उमेशलाल समूहको स्ट्रेन्थ : दुई पूर्व अध्यक्ष र सातै प्रदेशका अध्यक्षको साथ, वस्तुगत तर्फका सदस्यको पनि टुङ्गो

  २०७९ चैत २० गते २०:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् भने उनको समूहबाट जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनको समूहले जित सुनिश्चित भएको दावी गरेको छ । जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिएको सो समूहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले अहिले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफ्नो टीम अगाडि बढ्ने बताएका छन् । उनले आफ्नो टीमलाई ६० वटाभन्दा बढी जिल्ला संघ र ८० वटाभन्दा वस्तुगत संघले साथ दिएकोले जित सुनिश्चित नै भएको दावी गरे ।

उनले आर्थिक काँचुली फेर्नका लागि महासंघमा निस्वार्थ काम गर्ने बताउँदै आफु तस्वीर खिचाउनका लागि मात्र महासंघमा प्रवेश नगर्ने धारणा राखे । उनले अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल र सक्षम नेतृत्व आवश्यक भएको बताउँदै आफुले घोषणा गरेको टीम सक्षम सवल र अनुभवी भएको उनको धारणा राखे ।

तीन उपाध्यक्षका उम्मेदवार भन्छन् : जितेरै देखाउँछौं

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समूहमा तीन जना उपाध्यक्षले उम्मेदवारी दिएका छन् । हाल जिल्ला नगर उपाध्यक्ष रहेका दिनेश श्रेष्ठ पुनः उमेशलालकै समूहबाट जिल्ला नगरकै उम्मेदवार बनेका छन् भने वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोशिएट उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् । तीनै जना उपाध्यक्षले आफुहरुले जितेरै देखाउने दावी गरेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बाल्दै जिल्ला नगरतर्फका उपाध्यक्ष श्रेष्ठले यो टिमले विजयी भएर देखाउने बताए । उनले मतदाताहरुलाई भोटको पनि अपील गरे ।

‘अहिले निर्वाचनका लागि अन्य साथीहरु पनि उठ्नु भएको छ, उनीहरुले जे दिएपनि लिनुस् तर भोट हामीलाई हाल्नुस्,’ उनले भने । कार्यक्रममा उनले अर्थतन्त्र चलायमान गर्न, ब्याजदर घटाउन र कर घटाउने विषयमा लविङ गर्ने जिम्मेवारी आफ्नो टिमले लिने बताए ।

यस्तै, वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले पनि यो समूह अनुभवी र विभिन्न क्षेत्रमा काम गरेर क्षमता प्रदर्शन गरिसकेकोले आफ्नो समूहलाई भोट दिन आग्रह गरे । कार्यक्रममा एसोशिएटतर्फका उपाध्यक्ष भरत आचार्यले भने अझै पनि सर्वसम्मत किसिमले अगाडि बढ्न सक्ने समय भएको धारणा राखे ।

‘मेरो पहिलेदेखि नै नेतृत्व सर्वसम्मत गरौं भन्ने भनाइ थियो, अहिले पनि त्यही छ, अझै समय छ, मेरो सबैलाई अनुरोध छ, मिलेर अगाडि बढौं, नेतृत्वलाई सर्वसम्मत चयन गरौं, अन्त्यमा प्रजातन्त्रिक अभ्यास त छदैछ,’ उनले भने ।

पूर्व अध्यक्ष र प्रदेश अध्यक्षहरुको पनि साथ

उमेहलाल श्रेष्ठको समूहलाई केही पूर्व अध्यक्षहरुले पनि खुलेर साथ दिएका छन् । महासंघका अन्य पूर्व अध्यक्षहरु अहिले निर्वाचनको माहोलमा मौन रहेपनि पूर्व अध्यक्ष चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठले उनको समूहलाई खुलेर साथ दिएका छन् । उनीहरु सोमबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा पनि सहभागी भएर मतदातालाई भोट दिन अपील गरे ।

महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार श्रेष्ठ र पूर्व कोषाध्यक्ष निरज केसीले पनि श्रेष्ठको समूहलाई खुलेरै समर्थन गरेका छन् भने पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत साथ रहेको बुझिएको छ ।

साथै, महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ दिएको उम्मेदवारहरु बताउँछन् । ढकाल भने कुनै पनि समूहमा खुलेका छैनन् । उनी मौन छन् ।

सोमबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाल र विनोदबहादुर श्रेष्ठले सबै मतदातालाई उमेशलालको समूहलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष ढकालले महासंघको गरिमालाई कायमै राख्न उमेशलालको समूहलाई मतदान गर्न मतदातालाई आग्रह गरे ।

उनले आफुसँग सातै प्रदेशका अध्यक्षहरु र विभिन्न वस्तुगत संघका अध्यक्षहरुले यति मत दिने बताएको उल्लेख गर्दै उमेशलालको समूहको जित सुनिश्चित भएको दावी गरे । उनले महासंघ पार्टीको भातृ संगठन जस्तो हुन नदिन यो समूहलाई मतदान गर्न आवश्यक रहेको धारणा राखे ।

यस्तै, पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले सबैले उमेशलालको टीमलाई चाहेको धारणा राखे । उनले निर्वाचनमा पूर्व अध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने बताउँदै यस पटक उमेशलालको टिमले जित्ने पक्का भएको बताए ।

‘महासंघको निर्वाचानमा पूर्व अध्यक्षको भूमिका महत्वपूर्ण हुन्छ, उमेशलालको योगदान महासंघमा महत्वपूर्ण छ र महासंघको गरिमा कायमै राख्न यो टीमको आवश्यकता छ,’ उनले भने ।

यस्तै, उमेशलाल समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अधिकांश प्रदेशका अध्यक्षहरुको पनि सहभागिता रहेको थियो । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, कर्णाली प्रदेशका पदमबहादूर शाही, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र सुदूर पश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी उमेशलालकै टीममा रहेको उनको दावी छ ।

वस्तुगत सदस्यहरुको पनि टुङ्गो

उमेशलाल श्रेष्ठको समूहले वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुको पनि टुङ्गो लगाएको छ । उपाध्यक्षसहित १४ जना कार्यकारिणी सदस्य निर्वाचित हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार उमेशलाल समूहले १४ जनाको नाम नै टुङ्गो लगाएर सोमबार घोषणा गरेको हो । यो समूहको अर्को स्ट्रेन्थ यो पनि हो ।

महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार जिल्ला नगर र एसोशिएटतर्फका सदस्यहरुको टुङ्गो पनि छिट्टै लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.