जिल्ला नगरको नेतृत्व गर्नु समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह हो : दिनेश श्रेष्ठ

  २०७९ चैत २० गते १५:१५     विकासन्युज

काठमाडाैं । महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

अघिल्लो निर्वाचनमा शेखर गोल्छा तथा किशोर प्रधान समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका श्रेष्ठ यसपाली वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको समुहबाट चुनावी मैदानमा होमिएका छन् ।

साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले गरेका कामहरु नै विजयको प्रमुख आधार भएको श्रेष्ठ बताउँछन् ।

महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगरतर्फको उपाध्यक्षमा पुनः दाबेदारी दिएको उनको भनाई छ ।

‘यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने । जिल्ला नगरका साथीहरुको आग्रहमा नै पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।

सबैजना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुनसक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा नै उम्मेदवारी दिएको उनले बताए ।

को हुन् श्रेष्ठ ?

उद्योगी श्रेष्ठ काठमाडौंको इन्द्रचोकमा व्यावसायिक पृष्ठभूमिकै परिवारमा जन्मिएका थिए । व्यवसायिक परिवारमा जन्मिएका कारण सानैदेखि व्यवसायमा धेरैथोरै संलग्न रही व्यवसायलाई बुझ्न पाए । श्रेष्ठ आफैँले पूर्ण रुपमा वि.स. २०३६ देखि व्यवसाय सम्हाल्न थालेका हुन् ।

आयातबाट व्यवसाय सुरु गरेका उनले आयातमा सफलता प्राप्त गरेपछि निर्यातजन्य सामान उत्पादनतर्फ लागे । सोही बमोजिम उनले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याए । विसं २०४४ मा शैक्षिक सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालन गरे । त्यसपछिको केही समय उनी अटोमोबाइल व्यवसायमा पनि संलग्न भए ।

हाल श्रेष्ठ मुख्य रुपमा हाते टुल्स, अफिस इक्वीपमेन्ट तथा विभिन्न इक्वीपमेन्टहरु नेपाली बजारमा उपलब्ध गराउने व्यवसायमा संलग्न छन् ।

हाल प्यासिफिक ग्रुपका मुख्य सञ्चालक पनि हुन्, दिनेश श्रेष्ठ । उक्त प्यासिफिक ग्रुप अन्तरगत हाल कागजजन्य शैक्षिक सामाग्रीहरु उत्पादन गर्ने अशोका कार्बन एण्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, प्यासिफिक कमर्सियल, श्रेष्ठ इन्टरनेशनल टे«डिङ कन्सर्न लगायतका कम्पनीहरु सञ्चालनमा छन् ।

यसैगरी स्वास्थ्य शिक्षाको क्षेत्रमा केही पहल गर्नुपर्छ भन्ने मान्यताले सञ्चालनमा आएको नेपालगञ्ज मेडिकल कलेजको समेत उनी अध्यक्ष छन् । आफू संलग्न उद्योग व्यवसाय तथा सबै व्यवसायिक प्रतिष्ठानमा करिब २ हजार व्यक्तिहरुलाई रोजगारी दिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.