समस्याग्रस्त अर्थतन्त्र सुधार्छु, निजी क्षेत्रको मनोबल घट्न दिन्न : अर्थमन्त्री डा. महत

  २०७९ चैत १९ गते १४:०४     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्ने प्रतिवद्धता गरेको छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटवार्तामा बोल्दै उनले आफ्नो पहिलो उक्त प्रतिवद्धतालाई पुरा गर्न निजी क्षेत्रको साथसहयोग चाहिने समेत बताएका हुन् ।

गत शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका डा. महतले यसको लागि निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए ।

‘तपाईंहरुको मनोबल घट्न दिन्न, तपाईंहरुसंग निरन्तर संवादमा रहन्छु, मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईंहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु,’ अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भने ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ पनि गरेका थिए ।

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह थियो ।

अहिले सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्थाको चित्रण गर्दै उनले यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने सुझा दिए । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने सुुझाए ।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गरे ।
निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिए । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.