अर्थमन्त्रीको पपुलिष्ट प्रतिवद्धता : सेयर बजार र घरजग्गाप्रति ‘ग्रीन सिग्नल’

  २०७९ चैत १७ गते १८:३५     सन्तोष रोकाया

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएसँगै साँझ सिंहदरबार पुगेर मन्त्रीको पदभार ग्रहण गरेका हुन् ।

सवा ३ बजे मन्त्रीको सपथ लिएका उनी राष्ट्रपति कार्यालयबाट सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका थिए । उनलाई मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, बीमा प्राधिकरण अध्यक्ष लगायत अर्थमन्त्रालय मातहतका उच्च ओहदाका कर्मचारीले स्वागत गरे ।

स्वागतसँगै उनी सिधै अर्थमन्त्रालयको सूवर्ण हलमा पुगे । उनले बधाई थाप्दै धारणा राख्न सुरु गरे । काँग्रेसभित्र पनि लामो रस्साकस्सीकाबीच अर्थमन्त्री बनेका उनको अर्थमन्त्रालयको इन्ट्रीलाई धेरैले चासोका रुपमा हेरेका छन् ।

देशको अर्थतन्त्र सन्तोषजनक नभएको र लगानीको वातावरण बन्न नसकेको भन्दै उद्योगी व्यवसायीसँगै बैंकरहरुले पनि गुनासो गरिरहेका छन् भने सेयर बजारसँगै घरजग्गा व्यवसायमा पनि एक किसिमको मन्दी आएको छ । यो बेला अर्थमन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका अर्थमन्त्री महतको इन्ट्रीलाई धेरैले गहन रुपमा हेरेका छन् । धेरैले अर्थमन्त्रालयमा उनको प्रवेशले अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेका छन् भने कतिपयले उनी उर्जामन्त्री हुँदा खासै राम्रो ‘पफर्मेन्स’ गर्न नसकेकोले अर्थमन्त्रालय पनि हाँक्न नसक्ने धारणा राखिरेहका छन् ।

तर, उनी अर्थशास्त्रमा विद्यावारिधि गरेको व्यक्ति भएको र अर्थतन्त्र सम्बन्धि राम्रो ज्ञान भएको हुन सक्ने भन्दै यो संकटकाबीच प्रभावकारी काम गर्न सक्ने अपेक्षा धेरैको छ ।

शुक्रबार अर्थमन्त्रीको रुपमा पदभार सम्हालेका उनले अर्थतन्त्रका सबै क्षेत्र तथा निकायलाई छुने प्रयास गरेका छन् । सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकलाई मिलेर काम गर्न आग्रह गरेका छन् भने बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदरको विषयमा पनि आफ्नो धारणा राखेका छन् ।

धेरैले अहिलेको मुख्य समस्या र चुनौतिका रुपमा बैंकको ब्याजदरलाई लिएका छन् । उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदरलाई नै मुख्य मुद्दा बनाएर विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री महतले त्यही विषयलाई टपक्कै टिपेर ब्याजदर घटाउनका लागि आफुले पहल गर्ने धारणा राखेका छन् । उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीको ‘मन छुन’ मद्दत पुर्याउन सक्छ ।

अर्थात् सुरुमै उनीप्रति उद्योगी व्यवसायीको ‘पोजिटिभ्स भाइव्स’ उत्पन्न हुन सक्छ भन्नेमा उनी राम्रोसँग जानकार रहेको बुझिन्छ । उनले आफु कर नबढाउने पक्षमा रहेको संकेत पनि देखाएका छन् ।

उनले करको दरभन्दा पनि दायरा बढाउने आफ्नो मख्य प्राथमिकतामा रहने धारणा राखेका छन् । लगानी भित्र्याएर राजस्वको दायरा बढाउने, राजश्व संकलनका लागि सरकारले उद्योगी व्यवसायीलाई करकाप नगर्ने उनको भनाइ छ । अहिले अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणमा छ । अर्थमन्त्री महतले पहिलो दिनमै कर नबढाउने संकेत गरेपछि यसले पनि थप सकारात्मक चर्चा हुन सक्छ भन्नेमा उनी विश्वस्त देखिन्छन् ।

‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु, अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि दायरा बढाउन तर्फ मेरो ध्यान हुनेछ,’ उनले भने ।

यस्तै, अहिले धेरैको ध्यान सेयर बजार र घरजग्गा व्यवसायमा पनि देखिएको छ । लगानीकर्ताहरुले सेयर बजारमा १४ खर्ब बढी गुमाएको बताइरहेका छन् भने घरजग्गा व्यवसायमा पनि मन्दी आउँदा यसको असर सबै क्षेत्रमा परेको बताइने गरिन्छ । यी दुई क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका पीडा र दुःखहरु सुनिनसक्नु छ । यी दुवै क्षेत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. महतले घट्दै गएको सेयर बजारर र घरजग्गा व्यवसायमा आएको मन्दीले लगानीकर्तालाई निराश बनाउँदै गएको र अब विभिन्न निकायको सहकार्य र समन्वयमा काम गर्ने बताएका छन् । यसअघिका अर्थमन्त्री र गभर्नरहरु सेयर बजार र घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भनेर लगानी गर्न दुरुत्साहन गर्थे । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समेत यसअघि सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेका थिए ।

प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेको अभिव्यक्ति एकताका निकै चर्चामा आएको थियो । उनले पुँजी बजारलाई बढाएर केही सीमित पुँजीवादीको हातमा अर्थतन्त्र पुर्याउने खेल सेयर बजार भएको बताएका थिए । अहिले उनै प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री महत बनेका छन् ।

अर्थमन्त्री महतले भने यी दुई क्षेत्रप्रति ‘ग्रिन सिग्नल’ देखाएका छन् । उनको यो ग्रिन सिग्नलले पनि लागनीकर्तालाई पक्कै पनि खुसी बनाउन सक्ने धेरैको अपेक्षा तर उनले आज राखेका धारणा सुरुमै सबैको ध्यान तान्न र आफुप्रति सकारात्मक दृष्टिकोण बनाउनका लागि हुन सक्ने शंसय धेरैमा छ ।

गभर्नरसँग सम्बध बढाउने प्रयास

सरकारको मुख्य आर्थिक सल्लाहकार राष्ट्र बैंक हो । पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर महाप्रसाद अधिकारीले साथ नदिएको विषय पनि उत्तिकै चर्चामा छ । परिणाम स्वरुप गभर्नर अधिकारीलाई शर्माकै प्रस्तावमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन समेत गर्यो । तर, पछि सर्वोच्च अदालतलले उनलाई राष्ट्र बैंकमै फर्कायो ।

अर्थमन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ नमिलेको भन्दै धेरैले आलोचना समेत गरे । त्यसपछि अर्थमन्त्रीका रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आएपछि अर्थतन्त्र सुधार भएको सूचक राष्ट्र बैंकले पनि सार्वजनिक गर्यो ।

अहिले अर्थमन्त्रीका रुपमा महत आएपछि उनले सुरुमै गभर्नर अधिकारीको सहयोग मागेका छन् । उनले अधिकारीसँग मिलेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताए ।

अहिले अर्थतन्त्रका देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा छ । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ अर्थमन्त्री महतले भने ।

उनले कार्यक्रममै कुनै पूर्वाग्रह नराखी काम गर्ने पनि बताएका छन् । ‘कुनै पूर्वाग्रह नराखी काम गरौं, सबैलाई समस्या छ, यी विभिन्न समस्या समाधानका लागि सबैले सहकार्य गरेर काम गरौं,’ उनले सोही वाक्यलाई दोहोर्याए ।

अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मिलेर काम गर्न आग्रह गरे लगत्तै उनीसँग व्यक्तिगत भेटघाट पनि गरेका छन् । उनले अर्थ सचिव र राजस्व सचिवलाई सँगै राखेर गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । यसले पनि उनले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंककै सहयोग चाहेको बुझिन्छ । धेरैले उनले आज पदवहालीपछि राखेको धारणालाई पपुलिष्ट बन्ने बाटोका रुपमा पनि चित्रण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.