युनाइटेड-अजोड इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता, अध्यक्षमा श्रेष्ठ, स्वाप रेसियो कति ?

  २०७९ चैत १७ गते १८:२६     विकासन्युज

काठमाडौं । मर्जर प्रकृयामा रहेका युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

श्रोतका अनुसार दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् ।

दुई कम्पनी मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने छ । जसको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् भने सीईओको भने हालसम्म टुंगो लागि नसकेको श्रोतले बतायो । सम्भवतः युनाइटेडको तर्फबाट सीईओ हुने सम्भावना प्रवल रहेको बुझिन्छ ।

त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ (५ प्रतिशत बोनसपछि) पुगेको छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ ।

अन्तिम सहमति पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले अब करिब डेढ महिनाभित्रमा एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । ‘सबै काम समयमै सकिएमा आगामी बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्छौं होला,’ सम्बद्ध श्रोतले विकासन्युजसँग भन्यो ।

यसअघि अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति भएको थियो । तर अन्तिम घडीमा स्वाप रेसियोमा कुरा नमिलेपछि दुई कम्पनीबीचको मर्जर भाँडिएको थियो । त्यसको लगत्तै अजोड र युनाइटेडबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.