‘ब्याज घटाउँछु, कर बढाउँदिनँ’

  २०७९ चैत १७ गते १६:५६     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याज घटाउन पहल गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याज घटाउनेदेखि अन्य नीतिगत परिवर्तनका लागि सहजीकरण गर्ने बताएका हुन् ।

सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने उनको भनाइ छ ।

‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापाक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु, अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउन तर्फ मेरो ध्यान हुनेछ,’ उनले भने ।

यस्तै, उनले सेयर बजार र घरजग्गाको विषयमा पनि धारणा राखेका छन् । उनले आफु सहज अर्थतन्त्र निर्माणका लागि जस्तोसुकै निर्णय पनि लिन सक्ने बताएका छन् ।

यस्तै, अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने उनले बताएका छन् । ‘समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं, साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने वातावरण सिर्जना गर्छौं,’ उनले भने ।

यस्तै, उनले अहिले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा बदल्नका लागि बैंक तथा वित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर काम गर्ने बताएका छन् । महतले राजस्व संकलन सन्तोषजनक नभएको बताउँदै लगानी शिथिलता, मूल्यवृद्धि लगायतलाई मूल्यांकन गरेर काम गर्ने पनि बताए ।

अर्थमन्त्री महतले महतले पूर्वाग्रह नराखी काम गर्न पनि सबै कर्मचारी र राष्ट्र बैंक नेतृत्वलाई आग्रह गरेका छन् । उनले अहिलेको अवस्थामा एकआपसमा समन्वयन गरेर काम गर्नु पर्ने बताउँदै संरचनात्मक सुधारका लागि सबैले लाग्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.