आर्थिक संकट छ तर प्रभु इन्स्योरेन्सको व्यवसाय घटेको छैन : सीईओ बज्राचार्य

  २०७९ चैत १६ गते १७:३२     विकासन्युज

पछिल्लो समय बीमा कम्पनीहरु धमाधम मर्ज हुँदैछन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिएसँगै कम्पनीहरुले एक आपसमा मर्जरमा जाने बाटो रोजेका हुन् । कतिपयले एकीकृत कारोबार पनि गरिसकेका छन् भने केही एकीकृत कारोबार गर्ने तयारीमै छन् । यो अवस्थामा प्रभु इन्स्योरेन्सले भने हालसम्म कुनै ठोस निर्णय गरेको छैन । यद्दपि पुँजी वृद्धिको लागि मर्जर मात्रै विकल्प होइन । बोनस सेयर वितरण गर्न पाउने, हकप्रद सेयर जारी गर्न सक्ने विकल्प पनि हुन्छन् । केही कम्पनीहरुले सम्पत्ति बेचरै भएपनि पुँजी वृद्धि गर्ने योजना अगाडि सारेका छन् । यो अवस्थामा प्रभु इन्स्योरेन्सले कुन बाटो रोज्दै छ, कम्पनीको आगामी योजनाहरु के छन् ? प्रस्तुत छ यसै विषयमा केन्द्रीत भएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग विकासन्युजले गरेको विकास वहस।

पछिल्लो समय अर्थतन्त्रमा त्यति सहज अवस्था छैन भनेर व्यवसायीहरुले भनिरहेका छन् । इन्स्योरेन्समा कस्तो छ प्रभाव ?

आर्थिक संकटबारे अर्थविज्ञहरुले जति नियालेर, विश्लेषण गरेर हेरेका छन्, हामी त्यसरी गएका छैनौं । इन्स्योरेन्स पनि वित्तीय क्षेत्रसँगै जोडिएको क्षेत्र हो । यो क्षेत्रबाट हेर्दा पनि नेपालको आर्थिक वृद्धि कम नै रहेको हो की भन्ने देखिन्छ । अहिलेको आर्थिक अवस्थाको प्रभाव इन्स्योरेन्समा निश्चय नै परेको छ । तर प्रभु इन्स्योरेन्सको हकमा मैले आफ्नो व्यापार घट्न दिएको छैन । तर यसको अर्थ यो होइन की बजारमा अर्थतन्त्र राम्रो अवस्थामा छ । हाम्रो इन्स्योरेन्स कम्पनीले जति बीमा बजारमा विकास गर्नुपर्ने हो, त्यति भइरहेको छैन । प्रभुको व्यवसाय घटेको छैन तर जति बढ्नु पर्ने हो त्यति बढेको पनि छैन ।

प्रभु इन्स्योरेन्सको अहिलेको ग्रोथ र अनुमानित ग्रोथ कति हो ?

हाम्रो अहिलेको ग्रोथ भनेको सामान्य ५ देखि १० प्रतिशत होला । जुन कम्तिमा ३० देखि ३५ प्रतिशतको ग्रोथमा जानु पर्ने थियो । बीमा बारे बुझ्दै जानेको संख्या बढ्दै गएको थियो । बजारले गति लिँदै थियो । तर पछिल्लो समय यो गतिको रफ्तार रोकियो । जसले जतिसुकै गाली गरेपनि, नकारात्मक सोचे तापनि बीमा अति आवश्यक हो । यस क्षेत्रको विकास सोही अनुसार हुन सकेको छैन ।

जसले एक पटक बीमा गरिसकेका छन्, उनीहरु निरन्तर बीमा गर्न चाहान्छन् । ‘अहिले संकट छ, म बीमा गर्दिन’ त कसैले भन्दैनन् होला, बजार किन संकूचित हुने ?

हो, जसले बीमा गरिरहेका छन्, उनीहरुले फेरी पनि बीमा गर्छन् । तर नयाँ त आउन सकेनन् नि । बीमा पोलिसी नवीकरण हुन्छ तर यो पनि घटिरहेको छ । किनभने कुनै कम्पनी घाटामा गयो भने कतिपयलाई प्रिमियम तिर्न गाह्रो हुन्छ । कम्पनी चल्ननै नसक्ने अवस्थामा गयो भने उनीहरुले तिर्न सक्दैनन् ।

अर्को, नवीकरण त होला तर थप बिजनेस त भएन नि । अहिले देखिएको यहि हो । नयाँ आउन सकेनन् । नयाँ व्यापार भएन । नयाँ उद्योगहरु स्थापना हुन सकेनन् । भइराखेका पनि राम्रोसँग चल्न सकेनन् । देशले विकासको गति लिन सकेन । महंगी बढेको बढ्यै छ । बढ्दो महंगीको तुलनामा नेपालीहरुको क्रयशक्ति छैन । आयस्तर नभएपछि क्रयशक्ति हुँदैन । जीविकोपार्जन त हुन्छ तर वृद्धि विकास हुँदैन ।

राजश्व उठनेन भन्दै सरकारले विकासका परियोजनाहरुमा खर्च गरिरहेको छैन । यसले बीमा क्षेत्रलाई कस्तो असर पारिरहेको छ ?

समग्र रुपमा हेर्दा विकास निर्माणको काममा ढिलाई भइरहेको छ । कारण खस्कँदो आर्थिक अवस्था नै हो । यसलाई ठ्याक्कै प्रतिशतमा भन्न त सकिँदैन । काम गर्छु भनेर सम्झौता भइरहेका छन् तर विभिन्न कारणले ती काम अघि बढ्न सकेका छैनन् । काम अघि नबढी बीमा हुँदैन । यसले सोझैे असर बीमामा परेको छ । यो त सरकारी तवरबाट हुने विकासका योजनाहरु नबन्दाको असर ।

अब सबै बीमा कम्पनीहरुलाई विकासका योजनाहरुले नै धानेको, यसले बीमा कम्पनीको बिजनेसमा उल्लेख्यनीय रुपमा सहयोग गर्ने भन्ने पनि होइन । योसँगसँगै अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका पनि छ । तर अहिले निजी क्षेत्रहरुसँग पनि पैसा छैन । नयाँ लगानी भएको छैन । लगानी सुरक्षित छैन । बीमा पनि यसकै वरिपरि नै घुम्छ ।

प्रभु इन्स्योरेन्सले सरकारी प्रोजेक्टहरुको बीमा कत्तिको गरिरहनु भएको छ ?

गरिरहेका छौं । बाटो, पुल लगायतका सरकारी प्रोजेक्टहरुको ठेक्का कुनै कन्स्ट्रक्सन कम्पनीले लिग्ला तर योजना त सरकारकै हो । यसको बीमा अवश्य छ । तर यसले मात्रै बीमा क्षेत्र धान्दैन, मुख्य निजी क्षेत्र नै हो । अहिले निजी क्षेत्र सुस्ताएको छ । बाहिरबाट गाडीहरु आयात हुन सकेका छैनन् । बीमा क्षेत्रमा उल्लेखनीय हिस्सा मोटर बीमाकै हो । हाउजिङ, रियल स्टेट, हाइड्रोपावर लगायत क्षेत्रमा नयाँ काम भएको छैन । देशको आयात निर्यात दुबै घटेको छ । यसले मेरिन इन्स्योरेन्स घटिरहेको छ । बैंकले नयाँ कर्जा प्रवाह नहुँदा बीमा पनि विस्तार हुन सकेन । घर कर्जा नै गएन भए घरको बीमा थपिदैन ।

यस्तो संकटको बीचमा प्रभु इन्स्योरेन्सको बिजनेस एक्स्पान्सन हुनुमा के ले योगदान गरिरहेको छ ?

पहिलो त सबैको साथ सहयोगले हो । अर्को हाम्रो लगनशीलताले पनि हो । हाम्रो लगनशीलतालाई सबैले गरेको कदर गरिदिनु भएको छ । यतिको लेभलबाट घट्नु हुँदैन है नै भन्ने एउटा उद्देश्य लिनै पर्ने रहेछ । यो अनुसार हामी खट्छौं पनि ।

प्रभु इन्स्योरेन्सको के छ नयाँ योजना ?

निर्जीवन बीमामा कुनै पनि किसिमको योजना तथा स्किम हुँदै हुँदैन । हामीले गर्ने भनेकै छिटो छरितो सेवा दिने हो । प्रविधिलाई भरपुर प्रयोग गर्ने । यो हामीले शुरुवात गरेका हौं । यसलाई कसरी छिटो छरितो दिन सकिन्छ ? आजको जमानामा कुनै ठाउँमा दुर्घटना भएमा तत्काल कसरी पुग्न सकिन्छ ? र, ग्राहकलाई परेको समस्यालाई पहिचान गरि कसरी समाधान निकाल्न सकिन्छ भन्नेतर्फ नै लाग्ने हो ।

कतिपय बीमितहरुले खुशी व्यक्त गरेको पाइन्छ भने कतिपय बीमितले कम्पनीहरुप्रति गुनासो गरेको पनि पाइन्छ । यो अवस्थामा तपाईंहरुको फोकस व्यवसाय बढाउनुतर्फ हो या बीमितहरुलाई अधिकतम सन्तुष्टि दिनको लागि उच्चस्तरको सेवामा हो ?

हाम्रो फोकस बीमा गराउनमा हुन्छ । मैले जहिलेदेखि प्रभु इन्स्योरेन्समा नेतृत्व गरें, त्यतिबेलादेखि नै मैले भन्दै आएको के हो भने हामी बीमामा पछाडि छौं । बीमामा चेतना फैलाउनु पर्छ । र, शिक्षामा जोड दिनुपर्छ । शिक्षामा पनि युनिभर्सिटी लेभलमा होइन, प्राथमिक तहदेखि नै हुनुपर्यो । यसले धेरैमा चेतना बढ्छ । मेरो उद्देश्य बीमा गराउनु पर्छ र यससम्बन्धी चेतना बढाउनु नै पर्छ भन्ने हो ।

पहिलो त बीमाको परिभाषा जान्नु पर्यो । जसमा बीमा कम्पनी र बीमितबीच एक आपसमा करार हुन्छ । बीमा भनेको कुनै एउटालाई परेको आर्थिक नोक्सानीको क्षतिको क्षतिपूर्ति सबै मिलेर भुक्तानी गर्ने हो । जस्तै १०० जनाले इन्स्योरेन्स गरेका छन्, १० जनाको दावी पर्यो भने बाँकी ९० जनाको प्रिमियम संकलन गरेर दिने हो ।

बीमाको सिद्धान्त पनि एउटा नियममा आधारित छ । सो अनुसार बीमा कम्पनीले कहिल्यै पनि दावी कम दिएका हुँदैनन् । तर बीमितहरुले जति माग्यो त्यति दावी दियो भने सन्तुष्ट हुने, होइन भने असन्तुष्ट । यसले यो क्षेत्रमा नकारात्मकता जन्मायो ।

बीमा कम्पनी र बीमितबीच गलत सूचना प्रवाह हुनाले नकारात्मकता बढी भएको हो की ? यसमा बीमकहरुको पनि त दायित्व होला नि बीमा गराउँदा नियम र शर्त, दायित्व र अधिकार विस्तृत रुपमा बुझाउने ?

तपाईंले भन्नु भएको एकदमै सहि हो । यो गर्नुपर्छ र गरिराखेको पनि हो । हामीले शुरुमा बीमा गराउँदा टप टु बटम, अक्षरश इमान्दारिताका साथ नियम र शर्त कसैले पनि पढेको हुँदैन । जे हुन्छ सबै सारांशमा हुन्छ । त्यसभित्र सबै समेटिँदैन । वास्तविक रुपमा भन्ने हो भने यसबारेमा कसैलाई पनि व्यक्तिगत रुपमा कक्षा लिएर बुझाउँन सकिँदैन । बीमा गराएपछि क्षति भएमा यसको क्षतिपूर्ति हुन्छ, यसरी दिन्छौं, यति दिन्छौं भनेर बुझाउने बाहेक अरु नहुने रहेछ । त्यसैले यहाँ द्वन्द्व हुने रहेछ । यसमा नबुझ्ने कुनै पक्ष हुँदैन र पनि किन यस्तो भइरहेको छ भन्न सकिँदैन । दावी लिनेले बढी दावी लिगौं भन्छ, यता दावी दिने मान्छेले म दिँदै दिन्न भनेको हुँदैन । दिएकै हुन्छ । हामी पनि नियममा बाधिएका छौं, गल्ती गर्यौं भने हामीलाई पनि कारवाही हुन्छ । त्यसैले नियम विपरित जाने त कुरै भएन, कारवाही भोग्न को चाहान्छ र ?

बीमितको सन्तुष्टिबारे तपाईंहरुले सर्भे गर्नुभएको छ ?

हाम्रोमा सन्तुष्टि असन्तुष्ट दुबै व्यक्त गर्ने छन् । कामहरु गर्दै जाँदा कतिपय विषय चित्त बुझ्ने नबुझ्ने हुन्छ । यदि साँच्चै चित्त नबुझेको भए बीमा कम्पनीहरु यसरी अघि बढ्थे होला र ? सबै कुरा बाध्यात्मक हुँदैन नि । बजारमा बीमा कम्पनीहरु अरु पनि छन् । ओपन मार्केट हो । जो जहाँ पनि जान सक्ने अवस्था छ । त्यसैले हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छन् । हामीले नकारात्मकलाई मात्रै जोड दिनु भएन । जस्तै, कम्पनीमा दिनभरी आएका ग्राहकमध्ये १० जना सन्तुष्ट भए २ जना भएनन् भने चर्चा ती २ जनाको हुने गर्छ ।

पछिल्लो बीमा कम्पनीहरुमा शाखा विस्तार गर्ने क्रम घट्दै गएको देखिन्छ । किन यस्तो भइरहेको छ ? कतै नियामक निकायको पोलिसीको प्रभाव परेको हो की ?

गएको साता मात्रै हामीले तीन वटा शाखा खोल्यौं । हाल एक्स्टेन्सन काउन्टरसहित ६३ वटा शाखा छन् । तर समग्रमा बीमा कम्पनीहरुको शाखा विस्तार केही कमी भएको छ । यो अवस्था आउनुको कारण पछिल्लो २/३ वर्षको बीचमा देखिएको प्राकृतिक प्रकोपको प्रभावले हो । विश्व अर्थतन्त्र संकटमा यसको पनि भूमिका छ । त्यसैले पनि शाखा विस्तारको काम सुस्ताएको हो ।

सञ्चालनमा आएका सबै शाखाहरु दीगो छन् या घाटामा छन् ?

मैले खोलेका सबै शाखा दीगो (सस्टिनेबल) नै छन् । घाटामा त छैनन् । मेरो ६३ वटा शाखामध्ये अहिलेसम्म मैले जम्मा दुई वटा शाखाहरुबाट कम बिजनेस गरेको छु । एउटा गाईघाट र अर्को बेनी । गाईघाटको शाखा भर्खर शुरुवात गरियो । बजार सानो । प्रतिस्पर्धी धेरै । त्यहिको बिजनेसले त्यहाँको व्यापार धानिँदैन । त्यस्तै, बेनीतिर बीमा नै हुँदैन । कारण कुनै बजारलाई अर्कै बजारले कन्ट्रोल गरेको हुने रहेछ । जस्तै, बेनीमा बीमा बाग्लुङबाट हुने रहेछ । कृषिको लागि खोलेको, बजार पनि सानो । तर त्यो पनि घाटामा छैन ।

पछिल्लो समय बीमा प्राधिकरणले बीमकहरुलाई प्रदेश कार्यालयहरु खोलेर त्यसबाट संघीय संरचनामा रुपान्तरण गर्न जोड दिँदै आएको छ । यो बीमा कम्पनीको हकमा कत्तिको जायज हुँदै छ ?

प्राधिकरणको यो कदम त एकदम राम्रो हो । मान्छे होस् या कम्पनी, समय अनुसार चल्दै जानुपर्छ । यो अनुसार डेन्सिटी पनि बढ्दै गएको छ । प्रदेशमा पनि शाखा विस्तार गरेमा प्रदेशका कुनै बीमित पीडक छ भने त्यो मान्छे काठमाडौं धाउन परेन । त्यसैले यो सकारात्मक कदम हो ।

पछिल्लो समय कम्पनीहरुको संख्या घट्दै छ । यो अवस्थामा प्रभु इन्स्योरेन्स टिक्छ की हराउँछ ?

प्रभु इन्स्योरेन्स अवश्य रहन्छ । किनभने हाम्रो ग्रोथ पहिलेदेखि एउटै लेभलमा बढ्दै आएको छ । लगानीकर्तालाई प्रत्येक वर्ष लाभांश दिँदै आएका छौं । हामी न एकदम अघि छौं न त पछि नै । हामी सहि तरिकाले, सहि ढंगले र सहि विश्लेषणबाट अघि बढीरहेका छौं ।

आगामी दिन कसरी अघि बढ्दै हुनुहुन्छ ?

आजको यो अवस्थामा त दीगो छौं भने भोलिको दिन स्वणर्मय नै हो । अफ्ठेरो अवस्थामा पनि कसैले प्रगति गरेको छ भने पक्कै पनि उसले भोलिको दिनमा पनि गर्छ नै ।

साढे २ अर्बको पुँजी बढाउने समय सीमा चैतमा सकिँदै छ । यसमा तपाईंहरुको गृहकार्य कस्तो छ ?

हामीले नियमनकारी निकायले दिएको निर्देशनलाई अक्षरश पालना गर्दै आएका छौं । पालना गर्छौं पनि । यसमा हामी प्रयासरत नै छौं । मर्जरमा जाने सक्दो कोशिस गर्ने छौं ।

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जरको प्रक्रिया अगाडि बढेको थियो, किन भाँडियो ?

मर्जर प्रक्रिया एक पक्षीय रुपमा टुट्यो । सबै विषयमा कुरा हुँदै थिए । धेरै विषयमा मौखिक रुपमा कुरा मिलेपछि प्रक्रिया अगाडि बढेको थियो । मौखिक रुपमा भएका सहमति कार्यान्वयन गर्ने कुराहरु अगाडि बढ्दै थिए । एकाएक उहाँहरुले मर्ज नगर्ने कुरा गर्नु भयो । सायद अर्को कम्पनीले बेटर अफर गरेकाले होला, उहाँहरुले नयाँ निणर्य लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.