एमबिबिएस पढेका विद्यार्थी माल्दिभ्सदेखि मलेसियासम्म

  २०७९ चैत १५ गते १८:३९     नारायण अर्याल

काठमाडौं । नेपालमा चिकित्सा शास्त्र अन्तर्गतको एमबिबिएस अध्ययन पुरा गरेका अधिकांश विद्यार्थी विदेश पलायन हुने गरेका छन् । नेपालमा थप उच्च शिक्षा अध्ययनमा समस्या र बेरोजगारीको कारण विद्यार्थीहरु विदेश पलायन भएको देखिन्छ ।

शैक्षिक शत्र २०७९/८० का लागि चिकित्सा शिक्षा आयोगले विभिन्न विश्वविद्यालयका २१ वटा मेडिकल कलेजलाई एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको लागि अनुमति प्रदान गरेको छ । ती कलेजहरुमा एमबिबिएस अध्ययन गर्नको लागि आयोगमार्फत छ हजार छ सय ३९ जना विद्यार्थीले प्रवेश परीक्षा उत्तिर्ण गरेका छन् ।

शैक्षिक शत्र ०७९/८० बाहेक पछिल्लो १० वर्षमा ७६ हजार पाँच सय पचास जना विद्यार्थीले एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तिर्ण गरेको तथ्यांकले देखाउँछ । त्यस्तै, पछिल्लो दश वर्षमा २६ हजार नौ सय १६ जना विद्यार्थीले एमबिबिएस उत्तिर्ण गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलमा एमबिबिएस उत्तिर्ण गरेका २७ हजार आठ सय पाँच र एमडी उत्तिर्ण गरेका नौ हजार तीन सय ३९ जना चिकित्सक दर्ता भएका छन् । काउन्सिलमा दर्ता हुनको लागि परीक्षामा सहभागी भएका मध्ये ६० प्रतिशतको हाराहारीमा मात्रै उत्तिर्ण भएको देखिन्छ । बाँकी विद्यार्थीहरुले केही पटक परीक्षामा सहभागी भए पनि सबै विद्यार्थीले निरन्तर प्रयास नगर्ने नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अनिल बिक्रम कार्की बताउँछन् ।

चालु शैक्षिक शत्रबाट एमबिबिएस कोटामा दुई हजार दुई सय २३ जना विद्यार्थीले सरकारको छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउँछन् । चालु शैक्षिक शत्रमा पनि एमबिबिएस अध्ययन गर्ने कुल कोटाको १० प्रतिशत विद्यार्थीहरुले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार नेपालमा ३० हजारको संख्यामा डाक्टरहरु रहेका छन् । तर, चिकित्सा क्षेत्र व्यवस्थित हुन नसक्दा र चिकित्सा बेरोजगारीको दर बढ्दै जाँदा एमबिबिएस पढेका ठूलो संख्याका विद्यार्थी मुलुकबाटै पलायन हुने गरेका छन् ।

विद्यार्थी माल्दिभ्सदेखि खाडीसम्म

ठूलो लगानी गरेर रोजगारको अवसर नपाएपछि एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरुको ५० प्रतिशत भन्दा धेरै संख्या विदेश पलायन हुने गरेको छ । नेपाल मेडिकल एशोसियसनका अध्यक्ष कार्कीले यस्तो संख्या ७०/७५ प्रतिशत रहेको बताए ।

‘नेपालमा उच्च शिक्षा अध्ययनको लागि केही बाधा व्यवधानहरु छन्, सरकारले दरबन्दी नखुलाउने र निजीमा व्यापक शोषण हुने जुन समस्या छ र न्यून पारिश्रमिकको कारणले पनि विद्यार्थीहरु पलायन हुने गरेका छन्’, डा. कार्कीले भने ।

विदेशमा ज्याला राम्रो भएको र करिअर पनि राम्रो हुने भएको ठानेर विद्यार्थीहरु जाने गरेको उनले बताए । डा. कार्कीका अनुसार पहिला मेडिकल अध्ययन गरेका नेपाली विद्यार्थीहरु युके, अमेरिका र अस्ट्रेलिया मात्रै जाने गरेकोमा पछिल्लो समयमा भने मालदिभ्सदेखि खाडी मुलुकहरुसम्म जाने गरेका छन् ।

एमबिबिएस अध्ययन नेपालको शैक्षिक क्षेत्रमध्ये महँगो बिधाको रुपमा पर्छ । तर, राज्यले वर्षेनी एमबिबिएस अध्ययनको शुरुवात गर्ने कति विद्यार्थीले अध्ययन पूरा गरे र कति बिचमा छोडे भन्ने विषयको एकीकृत तथ्यांकको विकास गरेको छैन । त्यस्तै, शुल्कमा वा छात्रवृत्तिमा एमबिबिएस उत्तिर्ण गरेका विद्यार्थीहरुको अवस्था के छ भन्ने तथ्यांक राज्यसँग छैन।

छात्रवृत्तिमा अध्ययन गरेर एमबिबिएस उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सरकारले दुई वर्ष करार सेवा उपलब्ध गराउने गरेको छ । तर, त्यसपछि पनि उनीहरुको नेपालमा रोजगारीको भविष्य नभएकाले उनीहरु करार सेवाकै अवधिमा विदेशतर्फ लाग्ने गरेको डा. सञ्जिव तिवारी बताउँछन् ।

नेपालमा अहिले २१ वटा शैक्षिक संस्थाले एमबिबिएस पढाउने गरेकोमा सरकारले फेरि थप मेडिकल कलेज बढाउने तयारी गरेको छ । त्यसो गर्दा थप कलेजहरुले पनि चिकित्सक उत्पादन गर्न सक्नेछन् । अवसरको सिर्जना नहुने तर जनशक्ति उत्पादनको मात्रा मात्रै बढ्दै जाने हो थप एमबिबिएस अध्ययन गर्ने विद्यार्थीहरु बेरोजगार बन्ने र पलायन हुँदै जाने अवस्था देखिने सरोकारवालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.