पाँच वटा हवाइ कम्पनीले किन्दैछन् १३ नयाँ जहाज

  २०७९ चैत १५ गते १७:०९     समुन्द्र घिमिरे

काठमाडौं । पछिल्लो समय नेपाली आकाशमा उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले नयाँ जहाज खरिद प्रक्रिया सुरु गरेका छन् ।

केही वायुसेवा कम्पनीले थप जहाज खरिदको तयारी थालेका छन् भने केही कम्पनीले पुराना जहाज बिक्री गरेर नयाँ ल्याउने तयारी थालेका छन् ।

हाल आन्तरिक रुपमा उडान गर्दै आएका बुद्ध र सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने तयारी गरिरहेका छन् । यस्तै, प्रभु हेलिकोप्टरले पुरानो होलिकोप्टर बेचेर नयाँ ल्याउने तयारी थालेको छ भने सिम्रिक एयरले नयाँ हेलिकोप्टर खरिद गर्न लागेको हो ।

बुद्ध, सौर्य र सिम्रिक एयरले एक/एक थान जहाज खरिद गर्न लागेका छन् भने प्रभु हेलिकोप्टरले एयरबस मोडलको दुई थान होलिकप्टर खरिद गर्न लागेको छ ।

अमेरिकन कम्पनीको हेलिकप्टर थप्दै सिम्रिक एयर

सिम्रिक एयरले अमेरिकन कम्पनीको नयाँ एक थान हेलिकप्टर थप गर्ने भएको छ । सिम्रिकले बेल टेक्सट्रन पीटीई बेल ५०५ जेट रेन्जर एक्स-जेआरएक्स खरिद गर्न लागेको हो ।

‘खरिद प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो, हामी अप्रिल अन्तिम सातासम्म नयाँ हेलिकप्टर ल्याउने तयारीमा छौँ’, सिम्रिक एयरका जनरल म्यानेजर मुरलिधर जोशीले भने ।

उनका अनुसार नयाँ ल्याउन लागिएको हेलिकप्टर नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । बेल ५०५ मोडलको हेलिकप्र अहिलेसम्म नेपालमा कुनै पनि वायुसेवा कम्पनीले नल्याएको उनले बताए । हेलिकोप्टर खरिद गर्न सिम्रिकको टोली सिंगापुर पुगेको थियो ।

कम्पनीले सन् २०१९ मा नै उक्त मोडलको हेलिकप्टर नेपालमा ल्याएर परिक्षण उडान गरेको थियो । नेपालको भूभागमा उडान गर्न सक्ने क्षमताको भन्दै कम्पनीले सन् २०१९ मा नै दुई थान हेलिकप्टर अडर गरेको उनले बताए ।

कोभिडका कारण ल्याउन नसकिएको २ थान जहाजमध्ये पहिलो चरणमा १ वटा मात्रै ल्याउने तयारी भएको जोशी बताउँछन् ।

सिम्रिकले उक्त हेलिकप्टरको सगरमाथा, अन्नपूर्णलगायतका उच्च पहाडी भेगमा १९ हजार फिटको उचाईमा परीक्षण उडान गरेको थियो ।

‘हामीले परीक्षण उडान गर्न नेपालमा उडान गर्न सक्ने देखेपछि अडर गरेका थियौँ, तर कोभिडका कारण ल्याउन सकिएको थिएन, अडर गरेको करिब ४ वर्षपनि पुनः सोही हेलिकप्टर ल्याउन लागेका हौँ’, उनले भने ।

यसअघि सिम्रिकले नेपालमा पहिलोपटक बेलकै ४०७ जीएक्सपी सिरिजको हेलिकोप्टर ल्याएको थियो । बेल ४०७ र एयरबस मोडलको गरी सिम्रिकले हाल ४ वटा हेलिकप्टरबाट उडान गर्दै आएको छ ।

नयाँ जहाज ल्याउनका लागि कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग स्वीकृति लिने तयारी थालेको छ । उक्त हेलिकोप्टर एक चालक र ४ यात्रु सिट क्षमता रहेको छ ।

२ थान एयरबस थप गर्दै प्रभु 

प्रभु हेलिकप्टरले २ थान एयरबस किन्ने तयारी थालेको छ । आफूसँग रहेका चार वटा हेलिकप्टर बिक्री गरेर नयाँ हेलिकोप्टर खरिदको तयारी गरेको हो ।

कम्पनीले हाल सञ्चालन गर्दै आएको चार वटा रोविन्सन हेलिकप्टर बिक्री गरेर एयरबस कम्पनीको नयाँ हेलिकप्टर किन्न लागेको हो ।
प्रभुले एयरबस एएस ३५० बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्न लागेको नायब महाप्रबन्धक राजलावतले बताए । उनका अनुसार चार थान रोविन्सन हेलिकप्टर बिक्रीको अन्तिम चरणको पुगेको बताउँछन् ।

‘हामीसँग पाँच थान रोविन्सन जहाजमध्ये हाल चार वटा बिक्रीको तयारी अन्तिम चरणमा पुगेको छ, उक्त जहाज बिक्री गरेर एयरबस कम्पनीका जहाज ल्याउँछौँ’, उनले भने ।

पाँचमध्ये कम्पनीले हालका लागि सन् २०१८ मा किनेको एउटा रोविन्सन हेलिकोप्टर भने चलाउने जनाईएको छ ।

एटीआर जहाज थप्दै बुद्ध एयर

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आन्तरिक उडानका लागि थप एउटा एटीआर जहाज थप गर्ने तयारी थालेको छ ।

हाल प्रदेश केन्द्रीत उडान विस्तार गरेको बुद्धले उडानलाई थप विस्तार गर्नभन्दै नयाँ एटीआर ७२-५०० सिटे जहाज ल्याउने तयारी भएको जनाएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्ण नयाँ जहाज अगामी अप्रिल महिनाभित्र ल्याइसक्ने तयारी भएको बताए । कम्पनीले सञ्चालन गर्दै आएको एटीआर मोडलकै जहाज ल्याउने तयारी भएको उनले बताए ।

नयाँ बम्वार्डियर ल्याउँदै सौर्य एयरलाइन्स

सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने तयारी थालेको छ । तीन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्यले नयाँ बम्वार्डियर जहाज ल्याउन लागेको हो ।

‘बम्वार्डियर सिआरजे-२००’ सिरिजको विमान ल्याउने तयारी थालिएको कम्पनीका व्यवस्थापक प्रवक्ता मुकेश खनालले जानकारी दिए । उनका अनुसार अबको एक डेढ महिनाभित्रै नयाँ बम्वार्डियर जहाज आइसक्छ ।

जहाज खरिद गर्न समिति गठन

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिदका लागि समिति गठन गरेको छ । निगमका उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा समिति गठन गरेको हो ।

उक्त समितिले आन्तरिक उडानका लागि ट्विनअटर र अन्तर्राष्ट्रिय उडानका लागि न्यारोवडी जहाज खरिदको लागि आवश्यक तयारी थाल्नेछ ।

सुरुवाती चरणमा दुईवटा न्यारेवडी र आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गर्नेछ ।

उक्त समितिले निगम सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनलाई आधार बनाएर सञ्चालक समितिले निर्णय गरेर मन्त्रालयमा पठाईने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.