वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने

  २०७९ चैत १५ गते १२:२४     विकासन्युज

सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार सल्लाह, सुझाव र परामर्श दिनको लागि सो सेवा सञ्चालन गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते ‘टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार आज विहान १० बजेबाट सो सेवा प्रारम्भ भएको बोर्डका सूचना अधिकारी राजन पौडेलले बताएका छन् ।

टेलिमेडिसिन सेवा लिन चाहनेले सार्वजनिक विदाका दिनमा बाहेक उपलब्ध हुने जनाइएको छ । सेवाका लागि नेपाली श्रमिकहरुले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्स एप र इमो मार्फत कल गर्नुपर्ने हुन्छ ।

श्रमिकको कललाई टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर आवश्यक सुझाव तथा प्रेस्किृप्सन अनलाइनमार्फत दिने जनाइएको छ । साथै आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने सचिवालयले जनाएको छ । टेलिमेडिसिन सेवा बीर अस्पतालले उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.