प्रथम बीमाशुल्कमा १८ कम्पनी : नेशनल लाइफ आक्रामक, छलाङ मार्दै अघि बढ्यो सूर्यज्योति

  २०७९ चैत १४ गते १८:१५     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले गत फागुनसम्ममा १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

जुन अघिल्लो महिनाको तुलनामा १२.७३ प्रतिशतले बढी हो । कम्पनीहरुले गत माघसम्ममा १६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी रकमको बीमाशुल्क संकलन गर्नेको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्सनै रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा १४.५३ प्रतिशतले बढी हो ।

त्यस्तै, दोश्रोमा रहेको नेशनल लाइफ एग्रेसिभ देखिएको छ । कम्पनीले एक महिनाको अवधिमा १६.४० प्रतिशतले प्रथम बीमाशुल्क बढाएको छ । जुन प्रतिशतको आधारमा अन्य कम्पनीको तुलनामा बढी हो । गत माघसम्ममा एक अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको नेशनल लाइफले फागुनसम्ममा २ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

त्यस्तै, सूर्यज्योति लाइफ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लाई उछिन्दै, नेशनल लाइफलाई पछ्याउँदै अघि बढेको छ । साविकको सूर्य लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सो कम्पनीले एक महिनाको अवधिमा १३.०१ प्रतिशतले प्रथम बीमाशुल्क बढाएको छ । गत माघसम्ममा एक अर्ब ४७ करोड रहेको कम्पनीको प्रथम बीमाशुल्क फागुनमा बढेर एक अर्ब ६७ लाख रुपैयाँ पुगेको छ ।

बढी प्रथम बीमाशुल्क संकलन गर्नेको चौथोमा लाइफ इ. कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले समीक्षा अवधिमा १०.६७ प्रतिशतले उक्त सूचकको आकार बढाई एक अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, अर्बबढी प्रथम बीमाशुल्क संकलनमा अन्य दुई कम्पनी सन नेपाल र सिटिजन लाइफ रहेका छन् । जसमध्ये सन नेपालले एक अर्ब २० करोड र सिटिजनले एक अर्ब १५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन गत माघको तुलनामा क्रमशल् ९.५४ र १२.९४ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा एक अर्बभन्दा कम र ५० करोडभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको सूचीमा ८ कम्पनी रहेका छन् । एशियन लाइफले ९२ करोड ४१ लाख, रिलायबल नेपालले ९२ करोड ६ लाख, युनियन लाइफले ८३ करोड ३३ लाख, आइएमई लाइफले ८२ करोड ७५ लाख, मेट लाइफले ८० करोड ४९ लाख, रिलायन्सले ५९ करोड ४८ करोड, प्राइमले ५१ करोड ८४ लाख र सानिमा लाइफले ५० करोड ७२ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन् । योअनुसार एशियन र रिलायबल लाइफबीच, युनियन, आइएमई र मेटलाइफबीच, प्राइम र सानिमा लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यसैगरी, सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले ४२ करोड ७० लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । जसलाई पछ्याउँदै प्रभु लाइफ छ । जसले फागुनसम्ममा ४१ करोड १७ लाख रुपैयाँ बराबरको प्रथम प्रिमियम उठाएको छ । प्रभुसँग मर्जहुन लागेको महालक्ष्मी लाइफले समीक्षा अवधिमा २८ करोड ८७ लाख रुपैयाँ बराबरको प्रथम प्रिमियम संकलन गरेको छ । प्रतिशतका आधारमा यी तीनवटै कम्पनीले क्रमशः ८, १३ र १० प्रतिशतले उक्त बीमाशुल्क संकलनमा वृद्धि गरेका हुन् ।

यता सबैभन्दा कम प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा गुराँस लाइफ देखिएको छ । कम्पनीले एक महिनामा १३.३५ प्रतिशतले उक्त बीमाशुल्क आर्जन बढाई २२ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ ।

प्रथम बीमाशुल्कमा कुन कम्पनी कुन स्थानमा ? कसको कति बढ्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.