एमआरपी मूल्यमै रक्सी बेचेर ग्राहकको मन जित्दै झिर सेकुवा, काठमाडौंमा चर्चित बन्दैछ सञ्जिवको रणनीति

<p>काठमाडौं । तपाईं सस्तो अनि मिठा खानेकुराको खोजीमा रेस्टुरेन्ट कतिको धाउनु हुन्छ ? त्यो पनि सस्तोमा रक्सी पिउने अनि मिठो सेकुवा पाइने ठाउँ । हो, यही उद्देश्यसहित काभ्रेका सञ्जिव कुमार तिमिल्सिनाले सञ्चालनमा ल्याएका छन् ‘झिर सेकुवा’ । शंखमुल करिडोरमा खुलेको ‘झिर सेकुवा’ रेस्टुरेन्टमा बनेका सेकुवाको स्वाद चाख्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सेकुवाका पारखीहरू आउँछन् । [&hellip;]</p>

काठमाडौं । तपाईं सस्तो अनि मिठा खानेकुराको खोजीमा रेस्टुरेन्ट कतिको धाउनु हुन्छ ? त्यो पनि सस्तोमा रक्सी पिउने अनि मिठो सेकुवा पाइने ठाउँ । हो, यही उद्देश्यसहित काभ्रेका सञ्जिव कुमार तिमिल्सिनाले सञ्चालनमा ल्याएका छन् ‘झिर सेकुवा’ ।

शंखमुल करिडोरमा खुलेको ‘झिर सेकुवा’ रेस्टुरेन्टमा बनेका सेकुवाको स्वाद चाख्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सेकुवाका पारखीहरू आउँछन् । रेस्टुरेन्टमा आएका ग्राहको सेवा र मिठो सेकुवा बनाउन दिनरात व्यस्त हुन्छन् सञ्जिव ।

काभ्रेको भकुन्डेमा जन्मेका सञ्जिव घरका एक्लो छोरो हुन् । एसएलसी (हालको एसईई) सम्मको पढाइ बनेपामा पुरा गरेका उनी थप अध्ययनका लागि काठमाडौंमा छिरेका थिए । काठमाडौंको पिनाकल एकेडेमीबाट १२ कक्षा पास गरे । पढाइसँगै होटलको तालिम लिए ।

होटलको तालिम सिक्दा सिक्दै उनलाई विदेश जाने मुड चल्यो । १८ वर्षकै उमेरमा उनी यूके गए । ‘त्यतिबेला पनि विदेश जाने अभ्यास निकै थियो, आफन्त र साथीहरु पनि विदेश गइरहेका थिए, मलाई पनि विदेश जाने मोह जाग्यो, यूके गएँ,’ आफु विदेश गएको दिनहरु स्मरण गर्दै उनले भने ।

उनले प्लसटूमा विज्ञान विषय पढेका थिए । तर, उनको रुची हस्पिटालिटीमा थियो । उनले यूके पुगेर पनि स्नातक तहमा इन्टरनेशनल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट विषय पढे ।

सानै उमेर, अपरिचित ठाउँ, नयाँ सहर, फरक अनुभवका कारण सञ्जिवलाई विदेशमा धेरै समस्याहरु झेल्नु पर्यो । कामको खोजीमा बितेका ती दिनहरु उनको मानसपटलमा ताजै छन् । लामो समयपछि उनले नान्डोस रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए ।

‘सानै उमेरमा यूके गएँ, पढाई पनि सुरु भयो, त्यहाँको बारेमा खासै जानकारी थिएन, काम खोज्नै ठूलो सकस भोग्नु पर्यो,’ उनले काम खोज्दाका अनुभवहरु सुनाए ।

सञ्जीवका अनुसार सो रेस्टुरेन्टले कर्मचारीको सीप र क्षमता विकासमा धेरै खर्च गर्थो । चञ्चले स्वभावका सञ्जिव काम गर्नमा पनि निकै फुर्तिला थिए । त्यही देखेर पनि कम्पनीले उनको प्रमोसन गर्दै लग्यो । अन्ततः त्यही रेस्टुरेन्टमा उनले प्रशिक्षकको पनि काम गरे ।

काम र पढाई एउटै भएकाले पनि उनलाई थप सहज भयो । रेस्टुरेन्टमा काम पाएपछि सञ्जिवले सुरुको जस्तो समस्या भोग्नु परेन । खान बस्न समस्या भएन । युके बसुञ्जेल राम्रो आम्दानी पनि गर्न पनि उनी सफल भए ।

उनले इन्टरनेशनल हस्पिटालिटी क्षेत्रमा यूकेमा नै स्नातकोत्तर अध्ययन पुरा गरे । अध्ययन पुरा पनि भयो अब आफ्नै देशमा केही गर्नुपर्छ भने सोचमा सञ्जिव पुगे । उनी सन् २०१५ मा नेपाल फर्किए । नेपालमा नयाँ व्यवसाय गर्ने, राम्रो भयो भने नेपालमै बस्ने । फापेन भने विदेश नै फर्किने गरी नेपाल आए ।

नेपालमा आएको बेला बाजेको सेकुवामा जागिरको अवसर आएको उनले देखे । उनले त्यहाँ काम गरे । ‘आफ्नै व्यवसाय सञ्चालन गर्ने सोच बनाएर नेपाल आएको थिएँ तर नेपालमा पनि काम गरेको अनुभव चाहिन्छ सोचेर बाजेको सेकुवामा काम गर्न थालेँ, उनले भने, ‘त्यहाँ ५ वर्ष काम गरेँ ।’

त्यहाँ अनुभव बटुलेपछि उनी रेस्टुरेन्ट सञ्चालनको तयारीमा जुटे । सेकुवाका परिकार र सस्तोमा रक्सी खुवाउने उद्देश्यसहित सन् २०२१ मा सञ्चालनमा ल्याए ‘झीर सेकुवा’ । आज झिर सेकुवा लोकप्रिय बनेको छ । सबैको रोजाइमा झिर सेकुवा पर्ने गरेको छ ।

‘अरु रेस्टुरेन्ट सञ्चालन गरेपछि मेनु बनाउँछन्, मैले रेस्टुरेन्ट खोल्नु भन्दा अगाडि नै मेनु बनाएको थिएँ, रेष्टुरेन्टमा के–के बेच्ने भन्ने विषयमा म स्पष्ट थिएँ, सुरुमा धेरै लगानी गर्नु हुँदैन, सामान्य खोल्नु पर्छ भन्नेमा थिएँ, त्यस्तै गरेँ,’ उनी भन्छन्, ‘अहिले सबैको रोजाइ झिर सेकुवा बनेको छ, खुसी लाग्छ ।’

मिठो सेकुवा, सस्तोमा रक्सी

सेकुवाका पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ शंखमुल करिडोरमा डेढ वर्षदेखि सञ्चालनमा छ ‘झिर सेकुवा’ । राजधानीमा फरक र नौलो स्वाद पस्किन सफल यो रेस्टुरेन्टमा ग्राहकहरूको पनि भीड लाग्ने गरेको छ ।

सस्तोमा रक्सी अनि मिठो सेकुवाको स्वाद लिन आउनेहरु दिनप्रतिदिन बढ्दैछन् । झिर रेस्टुरेन्टमा अधिकांश ब्राण्डका रक्सी पनि पाइने उनले बताए ।

‘अन्य ठाउँमा धेरै मार्जिन राखेर रक्सी बेचिरहेका हुन्छन्, तर, तर हामीले एमआरपीमा थोरै मूल्य बढाएर बेच्छौं, सस्तोमा मिठो खानेकुरा भएपछि धेरैले मन पराउनु हुन्छ,’ उनले भने ।

झिर रेष्टुरेन्टमा पाइने सेकुवा पनि अन्य ठाउँको भन्दा सस्तो पनि छ । छिटो सेवा, सामान्य सजावट र आनन्दको बस्ने व्यवस्था भएकाले भएकाले पनि मान्छे यहाँ आउन रुचाउँछन् ।

मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका मिठो परीकारहरुको मज्जा झिर सेकुवामा पाइन्छ । एमआरपी मूल्यमै पाइने झिर नै पहिलो रेष्टुरेण्ट भएको उनको दाबी छ ।

५० लाख लगानी, सयौंलाई रोजगारी

पछिल्लो समय झिर सेकुवाको फ्रेञ्चाइज पनि विभिन्न ठाउँमा खुलेका छन् । काठमाडौंमै ७/८ वटा विभिन्न स्थानमा झिर सेकुवाका शाखा सञ्चालनमा रहेको पनि सञ्जिवले बताए । उनले यो रेष्टुरेन्टमा ५० लाख बढी लगानी भएको बताए ।

उनका अनुसार कालोपुल, टोखा, इमाडोल, नयाँ बानेश्वर, कलंकी लगायतका ठाउँमा शाखाहरु छन् । उनले अब उपत्यका बाहिर पनि झिरको विस्तार गर्ने योजना छ । आफ्नै लगानीमा उनले भक्तपुर, कोटेश्वर, अनामनगर, मैतीदेवीमा पनि झिर सेकुवा खेल्दैछन् । उनले आफ्नो रेस्टुरेन्टबाट लगभग १८ जनालाई रोजगारी दिएका छन् । र, झिरका शाखाहरुबाट सयौं रोजगारी पाएका छन् ।

थोरै लगानी, स्तरीय पद्धती, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरलाई फ्रञ्चाइज मोडेलमा लजाने उनको रणनीति छ ।

Share News