२०७९ चैत १४ गते १५:२६ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफुले कर्जा–निक्षेप अुपात ( सीडी रेसियो) को नीति नल्याएको भए अहिले बैंक डुब्ने अवस्था सिर्जना हुने बताएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै उनले आफुले सीडी रेसियोको नीति ल्याउँदा नै बैंकहरु डुब्नबाट बचेको बताएका हुन् ।
उनले कार्यक्रममा आफुले कडा नीति अवलम्बन गर्दा धेरैको गाली खाएको पनि गुनासो गरेका छन् । अहिले आफ्नो नीति नै सही सावित हुँदै गएको उनको धारणा छ ।
‘राष्ट्र बैंकको जति कडा नियम अन्य सरकरी संस्थामा छैन, नियम कानुन कडा गर्दा मैले जति गाली कसैले खाएको छैन, समग्र अर्थतन्त्र शिरमा राखेर काम गर्दा गाली धेरै खाएँ, यदि सीडी रेसियो लागू नगरेको भए बैंकहरु डुब्थे, चालूपूँजी कर्जा कार्यान्वयन गर्दा गाली खाइयो, गाली खाएर पनि अर्थतन्त्र व्यवस्थित गर्छु,’ उनले कार्यक्रममा भने ।
उनले पछिल्लो समय अर्थतन्त्र पनि सुधार हुँदै गएको बताएका छन् ।
‘पर्यटन क्षेत्र कोरोना म्हामारी अघिकै अवस्थामा पुगिसकेको छ, पर्यटन क्षेत्र चलायमान भैसकेको छ, तरलता सहज हुँदा अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको छ, सरकारको भुक्तानी ९५ प्रतिशत डिजिटल बाटै हुन्छ, यो समग्र अर्थतन्त्रका लागि पनि राम्रो विषय हो,’ उनले भने ।
यस्तै, कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाको मर्जरको विषय पनि उठान गरेका छन् । बजारमा संस्थागत बिकास गर्न लाइसेन्स बितरण गरिएकोभएपनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि मर्जर नीति ल्याउनु परेको उनको भनाइ छ । उनले लघुवित्तको लाइसेन्स वितरण गलत थियो भन्ने निचोडमा रास्ट्र बैंक नपुगेको पनि उनले बताए । कार्यक्रममा लघुवित्तको लाइसेन्स वितरणको विषयमा चर्चा हुँदा उनले सो कुरा बताएका हुन् । लघुवित्तले अर्थतन्त्रमा ठूलो योगदान गरेको उनको भनाइ छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.