अब ब्याजदर घट्दै जान्छ, संकट टरेर अर्थतन्त्रमा सुधार हुँदैछ : गभर्नर अधिकारी

  २०७९ चैत १४ गते १५:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकहरुको ब्याजदर घट्दै जाने बताएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकको ब्याजको विषयमा व्यापक चर्चा भइरहेकोले अब विस्तारै घट्दै जाने धारणा राखेका हुन् ।

कार्यक्रममा उनले तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्दै जाने बताए । ‘आगामी दिनमा ब्याजदर बढ्ने सम्भावना छैन, अहिलेको स्थिति हेर्दा बैशाखदेखि ब्याजदर घट्दै जान्छ, अब ब्याजदर बढ्ने अवस्था छैन,’ उनले कार्यक्रममा भने ।

यस्तै, उनले आर्थिक वृद्धिदर पनि ४/५ प्रतिशतको हाराहाराहारीमा हुने अनुमान रहेको बताएका छन् । उनका अनुसार समग्र अर्थतन्त्र नकारात्मक अवस्थामा भएको भन्दै हल्ला भइरहेको बताउँदै त्यस्तो अवस्था छैन । पछिल्लो समय भैरहेका केही गतिविधिले झनै नैराश्यता उत्पन्न गरेको उनको भनाइ छ ।

‘वाह्य क्षेत्र राम्रै भएपनि संवेदनशिल छ, यो वर्ष निकै सकस भयो, अब विस्तारै सुधार हुँदैछ, अब संकट टरेको छ,’ उनले भने ।

कार्यक्रममा उनले आयात प्रतिस्थापन गर्न सक्ने वस्तु पहिचान गर्न जरुरी रहेको बताउँदै जसमा सबै भन्दा मुख्य क्षेत्र कृषि रहेको बताए । यस्तै, उनले रेमिट्यान्स बढेको कारण तरलतामा पनि सहज भएको छ ।

‘पर्यटन क्षेत्र कोरोना  महामारी अघिकै अवस्थामा पुगिसकेको छ, पर्यटन क्षेत्र चलायमान भैसकेको छ, तरलता सहज हुँदा अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको छ, सरकारको भुक्तानी ९५ प्रतिशत डिजिटल बाटै हुन्छ, यो समग्र अर्थतन्त्रका लागि पनि राम्रो विषय हो,’ उनले भने ।

यस्तै, कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाको मर्जरको विषय पनि उठान गरेका छन् । बजारमा संस्थागत बिकास गर्न लाइसेन्स बितरण गरिएकोभएपनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि मर्जर नीति ल्याउनु परेको उनको भनाइ छ । उनले लघुवित्तको लाइसेन्स वितरण गलत थियो भन्ने निचोडमा रास्ट्र बैंक नपुगेको पनि उनले बताए । कार्यक्रममा लघुवित्तको लाइसेन्स वितरणको विषयमा चर्चा हुँदा उनले सो कुरा बताएका हुन् । लघुवित्तले अर्थतन्त्रमा ठूलो योगदान गरेको उनको भनाइ छ ।

‘लघुवित्तमा केही विकृति छन् र विकृति भयो भन्दैमा बढार्ने काम गर्नु हुँदैन, राष्ट्र बैंकको जति कडा नियम अन्य सरकरी संस्थामा छैन, नियम कानुन कडा गर्दा मैले जति गाली कसैले खाएको छैन, समग्र अर्थतन्त्र शिरमा राखेर काम गर्दा गाली धेरै खाएँ, यदि सीडी रेसियो लागू नगरेको भए बैंकहरु डुब्थे, चालूपूँजी कर्जा कार्यान्वयन गर्दा गाली खाइयो, गाली खाएर पनि अर्थतन्त्र व्यवस्थित गर्छु, ’ उनले कार्यक्रममा भने ।

उनले अहिले कर्जाको माग नभएपनि बैंकको ब्याज तिर्नका लागि कर्जा माग्ने मात्रै बढेको बताए । यस्तै, राष्ट्र बैंकले सामाजिक संजालमा पैसाको नोट राखेर बिछ्याइएको फोटोको छानबिन गरिहरेको पनि उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.