२०७९ चैत १४ गते १२:५२ विकासन्युज
कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन् ।
लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग गरे ।
‘उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानून लागु गरेर दुख दिईन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्,’ श्रेष्ठले भने
उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए । सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठ बताउँछन् ।
निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भुमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको बताए ।
यस्तै, उनले आफूले लुम्बिनी प्रदेशमा अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको जानकारी दिएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.