सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : रवि लामिछाने

  २०७९ चैत १४ गते १०:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए ।

उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए । सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताए । उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताए । उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी र हामी तपाईहरुको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका हौँ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरुको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.