पूँजी बजारको ‘हट केक’को लाभांशमा कैँची लागेपछि सेयरमा भारी गिरावट

  २०७९ चैत १४ गते ८:४७     विकासन्युज

 

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था एक वर्ष अघिसम्म पूँजी बजारको ‘हट केक’का रुपमा कारोबार भइरहेको थियो । लघुवित्त वित्तीय संस्थाहरुको समूहमा सबैभन्दा उच्च मूल्य भएको जीवन विकास लघुवित्तका लगानीकर्ताहरु पनि उत्साहित थिए ।

सेयर मूल्य उच्च भएकै बेला कूल ७३.६८४२ प्रतिशत बम्फर लाभांश घोषणा गरेर सेयरधनीहरुलाई थप हौँसला प्रदान गर्याे । जसले सेयर मूल्य झनै माथि पुर्याउन सहजीकरण गर्याे ।

लघुवित्तले २०७८ को चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत बोनस सेयर र ३.६८४२ प्रतिशत नगद गरी कूल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जतिबेला लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ५ हजारकै आसपासमा कारोबार भइरहेको थियो ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ २०७८ चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज निर्णय गरेको थियो । बुक क्लोजको दिनसम्म लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ५ हजार २ सय रुपैयाँ बढी पुग्यो । बुक क्लोज गरेसँगै नेप्सेले ७० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गर्याे । लघुवित्तको सेयर मूल्य घटेर ३ हजार ३ सय रुपैयाँमा झर्याे ।

यस्तै, गत फागुन ८ गते लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद गरी कूल ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । जतिबेला लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ७ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।

तर, फागुन १९ गते राष्ट्र बैंकको निर्देशन भन्दै लघुवित्तले लाभांश दर संशोधन गरेको सूचना सेयरधनीहरुलाई दियो । राष्ट्र बैंकले फागुन १० गते जारी गरेको परिपत्र बमोजिम लघुवित्तले सबै प्रक्रिया पुर्याएर २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्याे ।

राष्ट्र बैंकले लघुवित्तलाई लिखित रुपमै निर्देशन दिएर १५ प्रतिशत भन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएपछि पुनः लाभांश घटाउन बाध्य भयो । लघुवित्तको सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले पुनः लाभांश घटाएर प्रस्ताव गर्याे ।

अब लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको निर्देशनमा लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि स्वीकृति पनि पाइसकेको लघुवित्तका एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए ।

राष्ट्र बैंकले लघुवित्त संस्थामाथि चालेका यी कदमले सेयरधनीहरु भने रुष्ट बनेका छन् । जसको प्रत्यक्ष असर पूँजी बजारमा लघुवित्तको सेयर मूल्यमा परेको छ । निरन्तर ओरालो लाग्दै आएको लघुवित्तको सेयर मूल्यमा आइतबार १० प्रतिशत नकारात्मक सर्किट लाग्यो ।

सोमबार लघुवित्तको सेयरमूल्य प्रतिशत अर्थात् ४१ रुपैयाँ घटेर १ हजार ४९८ रुपैयाँमा झरेको छ । सोमबार लघुवित्तको ३३ हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर मूल्य घटेको भएपनि लघुवित्तको सेयर कारोबार भने बढेको छ । सोमबार नेप्सेमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा जीवन विकास लघुवित्त दोस्रोमा छ ।

सोमबार लघुवित्तको कूल कारोबारमा नासा सेक्युरिटीजबाट ११ प्रतिशत बिक्री भएको छ । त्यस्तै, सोही ब्रोकरले ८ प्रतिशत सेयर खरिद गरेको छ । यस्तै, अन्य ब्रोकर इम्पेरियल, भिजनले पनि ५/५ प्रतिशत सेयर खरिद गरेका छन् । भिजनले १ प्रतिशत सेयर बिक्री गरेको छ ।

लघुवित्तको सेयर बिक्री गरेर अहिले नै लगानीकर्ताहरु निस्केको भन्न नमिल्ने एक लगानीकर्ता बताउँछन् । लघुवित्तको बोनस सेयरमा राष्ट्र बैंकले कैँची लगाएको हुँदा सेयर मूल्य घटेको एक लगानीकर्ताले विकासन्युजलाई बताए । लघुवित्तको सेयर मूल्य घटेको बेलामा खरिद गरेको हुन सक्ने उनको भनाइ छ ।

‘राष्ट्र बैंकले लघुवित्तलाई कडाइ गर्दा लगानीकर्ताको मनोविज्ञान बिग्रिएको थियो, झनै जीवन विकासको बोनस सेयरमा २÷२ पटक कटौति गरेपछि सरर घटेर तल झर्याे, सेयर मूल्य घटेको बेलामा लगानीकर्ताले खरिद गरेका हुन सक्छन,’ एक लगानीकर्ताले विकासन्युजसँग भने ।

राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई कडाइ गर्दा सेयर मूल्य घटिरहेको थियो । जीवन विकास लघुवित्तको सेयर मूल्य २ हजार ७ सयबाट घट्दै आएर २ हजारमा थामिएको थियो । तर, २ हजारमा थामिँदा राष्ट्र बैंकले २ पटक प्रस्तावित बोनस सेयरमा कटौति गर्याे । लघुवित्तले प्रस्ताव गरेको बोनसमा कैँची लगाएपछि प्यानिक भएर घटेको ती लगानीकर्ताले बताए ।

‘राष्ट्र बैंकले गरेको कडाइले लघुवित्त समूह नै घटेको थियो तर, जीवन विकासले प्रस्ताव गरेको बोनस कटौति गर भनेर निर्देशन दिएपछि झनै प्यानिक सेलिङ भयो,’ उनले भने ।

नेप्सेको तथ्याङ्क अनुसार जीवन विकास लघुवित्तका सेयरधनीहरुले एक वर्षमा २ हजार ४१ रुपैयाँ गुमाउनु परेको छ । एक वर्षअघि अर्थात् लघुवित्तको सेयरमूल्य ३ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो । तर, सोमबार अन्तिम कारोबार प्रतिकित्ता १ हजार ४८९ रुपैयाँमा भएको छ । यस आधारमा लघुवित्तका सेयरधनीहरुको सेयर मूल्य एक वर्षमा १३३ प्रतिशत घटेको हो ।

जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय कुमार मण्डल लघुवित्तको लाभांश आफूहरुले नघटाएको बताउँछन् । लाभांश नघटाएपछि राष्ट्र बैंकले एजिएम क्लिेरेन्स स्वीकृति दिन नमानेपछि घटाउन बाध्य भएको उनले बताए ।

‘हामीले कोषमा छुट्याउनु पर्ने रकम छुट्याएर वितरण गर्ने लाभांश घोषणा गरेका थियौं, त्यतिबेला ३७ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति माग्न राष्ट्र बैंकमा पेश गर्याै, राष्ट्र बैंकले स्वीकृत दिएन, फाइल अड्काएर राख्यो,’ उनले भने, ‘राष्ट्र बैंकले फागुन १० गते सर्कुलर जारी गर्याे, १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा ३५ प्रतिशत ग्राहक संरक्षण कोष (सीपीएफ) र १० प्रतिशत सीएसआरमा छुट्याउनु भनेर व्यवस्था गर्याे ।’

राष्ट्र बैंकको सोही व्यवस्था बमोजिम लघुवित्तले लाभांश संशोधन गरेर स्वीकृतिका लागि पठाएको सीईओ मण्डल बताउँछन् । जीवन विकास लघुवित्तले लाभांश घोषणा गर्दा राष्ट्र बैंकका सबै नियम कानुन, परिपत्र पालना गरेको उनको भनाइ छ । तर, राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएपछि घटाउन बाध्य भएको उनले बताए ।

‘फागुन १० को सर्कुलर अनुसार लाभांश वितरणको लागि प्रस्ताव गर्याैं तर, राष्ट्र बैंकले तोकेरै १५ प्रतिशत मात्रै लाभांश वितरण गर्न निर्देशन दियो, राष्ट्र बैंकले भनेपछि हामीले मान्नै पर्छ,’ उनले भने, ‘लाभांश घटेपछि सेयर मूल्य घट्नु स्वभाविक हो, अहिले लघुवित्त क्षेत्रमा चुनौति छन्, यति धेरै राम्रो काम गर्दैगर्दा कसैले पनि राम्रो भन्दैनन्, लघुवित्तमा काम गर्नेलाई तनाव मात्रै छ ।’

अहिले वितरण गर्न नपाएको लाभांश रिजर्भमा रहने र अर्काे वर्ष वितरण गर्न पाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.