ओलम्पिक छनोटको खेल नेपालमा हुने

  २०७९ चैत १३ गते १७:०९     विकासन्युज

काठमाडौं ।  फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ ।

नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ ।

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.