काठमाडौं । नेपाल प्रहरी र प्रशासनले नक्कली पाटपुर्जाहरुको अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य बढाएको छ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएको सुराकी पाएपछि प्रशासनले खोजी कार्य तिव्र बनाएको हो ।
यसैक्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्कीलाई प्रहरीले सचेत गराएको छ ।
यस्तै, प्रहरीले उपत्यकाबाहिर पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई पनि सचेत गराएको छ ।
यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको नेपालका लागि टाट मोटर्सका टेरिटरी पार्टस् म्यानेजर मनिस कुमार बताउँछन् । ‘यसले गर्दा वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्,’ उनले भने ।
अवैध कारोवारमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ ।