२०७९ चैत १३ गते १२:२५ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई राष्ट्र बैंककोबैठकमा बोलाएका छन् । उनले सीईओहरुलाई पत्र पठाउँदै दिउसो तीन बजे बोलाएका हुन् ।
छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरुलगायतका उच्च अधिकारीहरु सहभागी हुने बुझिएको छ । छलफल काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ ।
एक वाणिज्य बैंकका सीईओका अनुसार पत्रमा समसामयिक विषयमा छलफल गर्ने उल्लेख छ । ती बैंकरका अनुसार बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्या, ब्याजदर, बढ्दो खराब कर्जा र विदेशी अडिटरले केही बैंकहरुको वित्तीय विवरण अडिट गर्ने विषयमा छलफल हुने बुझिएको छ ।
यो सँगै पछिल्लो समय बैंकको ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरुले गरिरहेको विरोधको विषयमा पनि छलफल हुने बताइएको छ ।
आजै नेपाल राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरुको तालिम काठमाडौंमा हुँदैछ । जसमा नेपाल राष्ट्र बैंकका १० जना कर्मचारीहरु सहभागी हुँदैछन् ।
दक्षिण पूर्व एशियाली केन्द्रीय बैंक अनुसन्धान र प्रशिक्षण केन्द्र (सिसन)मा सदस्य राष्ट्रका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु तालिमका लागि काठमाडौंमा आएका हुन् । सिसनको आयोजनामा केन्द्रिय बैंकका कर्मचारीलाई सोमबारदेखि एक हप्तासम्म तालिम दिइने बताइएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.