नेपाल र प्रुडेन्सियल इन्स्योरेन्स कारवाहीमा, बीमा इतिहासमै ठूलो जरिवाना

  २०७९ चैत १२ गते १९:४१     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमाशुल्कमा अस्वस्थ प्रतिस्पर्धा गरेको, निर्देशन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको हो ।

प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्दै आएका दुई कम्पनीलाई जनही २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ ।

यसअघि पनि दायित्व पालना नगरेको भन्दै प्राधिकरणले दुई कम्पनीहरुलाई पटक पटक निर्देशन दिँदै आएको थियो । र, जरीवाना हुन नपर्ने भए ७ दिनभित्र सबुद प्रमाणसहित सफाई पेश गर्न दुबै कम्पनीलाई म्याद दिएको थियो । सो अनुसार कम्पनीहरुले दिएको स्पष्टिकरण सन्तोषजनक नभएको र यसअघि पनि विभिन्न प्रकृतिका कैफियतहरु देखिएको र सुधारको लागि निर्देशन दिँदा समेत अवज्ञा गरी पुनः दोहोर्याएको भन्दै उनीहरुलाई कारवाही गरिएको प्राधिकरण उच्च श्रोतले बताएको छ ।

र, कम्पनीको गत माघ १८ गतेदेखि २० गतेसम्म भएको स्थलगत निरिक्षणको क्रममा पनि कम्पनीहरुले नियम विपरीतका एउटै प्रकृतिका क्रियाकलापहरु दोहोराएको भटिएकोले प्राधिकरण नगद जरीवानासहितको कारवाही गर्न बाध्य भएको हो ।

‘बीमकलाई बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) बमोजिम बीमाशुल्क नलिई बीमालेख जारी गरेको, दावी भुक्तानी गर्दा बीमा नियमावली, २०४९ को नियम ३२ तथा दावी भुक्तानी मार्गदर्शन, २०७६ को दफा ७ विपरीत कार्य गरेको, मोटर बीमादर निर्देशिका, २०७३ तथा निक्षेप बीमाको बीमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुनेगरी कम बीमाशुल्क लिई बीमा गरी कानून, नियम, निर्देशन बिपरीत कार्य गरेको, प्राधिकरणले जारी गरेको निर्देशन र आदेश पालना नगरेको तथा ऐनको रीत नपुर्याई बीमा व्यवसाय गरेकोले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) बमोजिम पहिलो पटकका लागि २ लाख (दुई लाख मात्र) जरीवाना गर्ने निर्णय भएको छ,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो ।

अरू कम्पनी पनि कारवाहीमा पर्दै

प्राधिकरणले गरेको २ लाख रूपैयाँ जरिवाना हालसम्मकै ठूलो रकमको नगद जरिवाना रहेको प्राधिकरणको उच्च श्रोतले बताएको छ । यसअघि कम्पनीहरुलाई अधिकतम १० हजार रुपैयाँसम्मको जरिवाना गर्न पाइने व्यवस्था थियो ।

‘शुरुमा १० हजारभन्दा बढी जरिवाना गर्न पाईँदैन थियोे, बीमा ऐन आएपछि पहिलो चरणमा नै २ लाख रुपैयाँ जरिवाना गर्न पाउने व्यवस्था छ,’ उच्च श्राेतले भन्यो ।

साथै, श्राेतका अनुसार अन्य कम्पनीलाई पनि क्रमश जरिवाना गर्ने तयारीमा प्राधिकरण छ ।

‘यी दुई कम्पनीमा देखिएकाे इस्यु अन्य कम्पनीहरूमा पनि देखिएकाे छ, उनीहरूलाई पनि क्रमश कारवाही गर्दै जान्छाैं, उनले थपे- ‘कम्पनीहरूकाे केशवाइज कारवाही गर्छाैं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.