१९ देशका केन्द्रीय बैंकका कर्मचारी काठमाडौंमा

  २०७९ चैत १२ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १९ देशका केन्द्रीय बैंकमा कार्यरत कर्मचारीहरु तालिम लिन काठमाडौं आएका छन् । दक्षिण पूर्व एशियाली केन्द्रीय बैंक अनुसन्धान र प्रशिक्षण केन्द्र (सिसन)मा सदस्य राष्ट्रका केन्द्रीय बैंकमा कार्यरत कर्मचारीहरु तालिमका लागि काठमाडौंमा आएका हुन् ।

सिसनको आयोजनामा केन्द्रीय बैंकका कर्मचारीलाई सोमबारदेखि एक हप्तासम्म तालिम दिइने राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजलाई जानकारी दिए । सोमबारदेखि एक हप्ता आइतबारसम्म काठमाडौंको र्याडिसन होटलमा तालिम दिइने उनले बताए ।

सिसन मलेसियामा रहेको संस्था हो । यस संस्थामा दक्षिण पूर्वी एशियाका मुलुकका केन्द्रीय बैंकहरु सदस्य छन् । जसमा नेपाल राष्ट्र बैंकसहित १९ वटा केन्द्रिय बैंकहरु सदस्य रहेका छन् ।

सिसनको आयोजनामा सोमबारदेखि एक सातासम्म केन्द्रीय बैंकका कर्मचारी तालिममा सहभागी हुनेछन् । जसमा राष्ट्र बैंकबाट १० जना कर्मचारी सहभागी हुनेछन् भने अन्य सदस्य केन्द्रीय बैंकबाट एक/दई जना सहभागी हुनेछन् ।

‘कर्मचारीको क्षमता अभिवृद्धिका लागि सिसनले एक साता तालिम दिने हो, अनुसन्धान विभागमा कार्यरत कर्मचारीलाई बढी जोड दिइएको छ, तालिम टेक्निकल विषयमा बढी केन्द्रित हुनेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजसँग भने ।

उनका अनुसार राष्ट्र बैंकबाट १० जना कर्मचारी सहभागी हुनेछन् भने २० जना विदेशका केन्द्रीय बैंकमा काम गर्ने कर्मचारी गरी ३० जना सहभागी हुनेछन् । तालिममा सदस्य राष्ट्रका केन्द्रीय बैंकमा कार्यरत कर्मचारी मात्रै सहभागी हुनेछन् । ३० जना सहभागी हुने तालिम सोमबार उद्घाटन गरिनेछ ।

सिसनमा ब्रुनाई, कम्बोडिया, चीन, हङ्कङ, भारत, इण्डोनेसिया, कोरिया, लाओस, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, पपुवान्यूगिनी, ताइवान, थाइल्याण्ड र भियतनामका केन्द्रिय बैंक सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.