बैंकमै थन्कियो ३ अर्ब बढी लाभांश, लिनै मान्दैनन् सेयरधनी

  २०७९ चैत १२ गते १०:४२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीकर्ताले दीर्घकालका लागि लगानी गरेका हुन्छन् । हजुर बुवाको पुस्ताले लगानी गरेर नातीको पुस्ताले लाभ लिने क्षेत्र बैंकिङ्ग हो । अर्थात् बैंकमा लगानी गरेपछि आजको भोलि नै प्रतिफलको आशा हुँदैन । बैंकको लगानी दीर्घकालमा पाइने प्रतिफलका लागि हो भनेर बैंकरहरु बताउँदै आएका छन् ।

आठ दशकदेखि डेढ दशकसम्मइतिहास बोकेका बैंकहरु सञ्चालनमा छन् । सरकारको लगानीदेखि विदेशी लगानीसम्म भएका बैंक अहिले सञ्चालनमा छन् । बैंकमा गरेको लगानी सबैभन्दा सुरक्षित हुने गरेको लगानीकर्ता बताउँछन् । तर, विगतका वर्षहरुको तुलनामा उच्च लाभांश दिइरहेका बैंकहरुको लाभांश दर कही वर्ष यता भने घट्दै गइरहेको छ ।

बैंकहरुले वर्षभरी कमाएको नाफा वितरण गर्दा पनि सेयरधनीहरुले अर्बौं रुपैयाँ बराबरको लाभांश रकम बैंकमा नै थन्किने गरेको छ । बैंकहरुले प्रत्येक वर्ष वितरण गर्दै आएको लाभांश रकम केही सेयरधनीहरुले नलिँदा उक्त रकम बढ्न थालेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) महेश शर्मा ढकाल सेयधनीहरु लाभांश रकम लिन नआउँदा बैंकमै थपिँदै जाने बताउँछन् । लगानीकर्ताले लिएपछि मात्रै लाभांश रकम शून्यमा झर्ने उनको भनाइ छ । वितरण गरिएको रकम सेयरधनीहरुले लिन नआएसम्म बाँकी रहिरहने उनले बताए ।

‘अहिले सेयरधनीहरुको खातामा जम्मा गरिन्छ, पहिला खाता पनि हुन्थेन्, लाभांश लिन बैंक वा मर्चेन्ट बैंकमा जनुपथ्र्याे,’ उनले भने, ‘कतिपय मान्छे विदेश गएका हुन सक्छन्, कतिपय आफ्नो नाममा भएको सेयर कति छ भनेर बिर्सेका पनि हुन्छन्, कतिको मृत्यु पनि भएको हुन्छ ।’

उनका अनुसार बैंकले पनि फोन गरेर बोलाएर वितरण गर्न सम्भव छैन । किनभने पुराना खातामा फोन नम्बर पनि अपडेट हुँदैन । बैंकले पटक पटक वितरण गरिएको लाभांश रकम लिनका लागि सूचना पनि जारी गर्ने गरेको उनले बताए । यदि तोकिएको अवधिमा सेयरधनीहरु लाभांश लिन आएनन् भने कोषमा जम्मा गर्ने गरेको उनले बताए ।

‘पहिला सेयर भर्दा केवाइसी भर्ने चलन थिएन, सेयरधनी को हो र कहाँ छ भनेर बैंकलाई पनि जानकारी हुँदैन, त्यसैले बैंकहरुले आफ्नो वेबसाइटमा लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको सूची राख्ने गरेको छ, यदि तोकिएको अवधिमा लिन आएनन् भने कोषमा जम्मा गरिन्छ, त्यो बेलामा मात्रै शुन्यमा झर्छ,’ उनले भने ।

पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुले ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी छ । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशत अर्थात् ५८ करोड ५६ लाख रुपैयाँ वृदि भएको हो । यसअघि आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब १ करोड रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले बुझिलिन बाँकी थियो । जुन एक वर्षमा २० प्रतिशतले बढेको हो ।

तथ्याङ्क अनुसार नबिल बैंकका सेयरधनीहरुले सबैभन्दा धेरै लाभांश रकम बुझिलिन बाँकी छ । गत असार मसान्तसम्म नबिल बैंकका सेयरधनीहरुले ७९ करोड २ लाख रुपैयाँ बराबरको लाभांश रकम लिएका छैनन् । उक्त रकम साविकको नेपाल बङ्गलादेश बैंकका सेयरधनीहरुको पनि रहेको बताइएको छ ।

यस्तै, सबैभन्दा धेरै लाभांश रकम बुझिलिन बाँकी रहेका बैंकहरुमा क्रमशः कृषि विकास बैंकको ५१ करोड १ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४१ करोड ५० लाख रुपैयाँ, हिमालयन बैंकको ३१ करोड ६५ लाख रुपैयाँ र एनएमबि बैंकको २१ करोड ५८ लाख रुपैयाँ बराबरकोसेयरधनीहरुले लिएका छैनन् ।

यस्तै, सिटिजन्स बैंकको १५ करोड ५४ लाख रुपैयाँ, एभरेष्ट बैंकको १३ लाख १८ हजार रुपैयाँ, कुमारी बैंकको ११ करोड ९९ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ११ करोड ७४ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ६८ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० करोड ६१ लाख रुपैयाँ, प्राइम बैंकको १० करोड ४० लाख रुपैयाँ र सिद्धार्थ बैंकको १० करोड ७ लाख रुपैयाँ बराबरको लाभांश रकमबुझि लिन बाँकी रहँदा बैंकमा नै थन्किएर रहेको छ ।

यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ७५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ७ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकको ७ करोड ४८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६ करोड ३० लाख रुपैयाँ, लक्ष्मी बैंकको ५ करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १९ लाख ५२ हजार रुपैयाँ लाभांश रकम बुझिलिन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै नेपाल बैंकको बुझिलिन बाँकी रहेको लाभांश रकम बढेको छ । बैंकसँगआर्थिक वर्ष २०७७÷७८ मा २० लाख रुपैयाँ मात्रै बुझिलिन बाँकी रहेको लाभांश रकम थियो । तर, एक वर्षमा ५ हजार २३८ प्रतिशत बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

लगानीकर्ता सृजना सुवेदी सेयर बजारमा लामो समयदेखि सक्रिय रहेका तर जानकारी नहुँदा लाभांश नै लिन नगएको हुन सक्ने बताउँछिन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश लिनका लागि सूचना जारी गर्नुभन्दा सिधै खातामा जम्मा गर्नु पर्ने उनको धारणा छ ।

‘आमाबुबाको पुस्ताका सेयरधनीहरु लाभांश लिन जाँदैनन्, सेयर बजारमा पुराना लगानीकर्ताहरु धेरै छन्, उहाँहरुलाई थाहा पनि हुँदैनन्, त्यसपछि लिन जाँदैनन्, बैंक तथा वित्तीय संस्थाहरुले सिधै खातामा हालिदिनु पर्छ,’ उनले भनिन् ।

लामो समयदेखि सेयरधनीहरुले लाभांश नलिएको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रिय दैनिक पत्रिमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सूचना प्रकाशित गर्दा पनि तोकिएको समयसीमामा सेयरधनीहरु सो लाभांश लिन नआएमा रकम कोषमा जम्मा हुन्छ ।

बैंक तथा अन्य कम्पनीहरुले पनि लाभांश लिन नआएका सेयरधनीहरुलाई सूचना निकालेर बेलाबखत लाभांश लिन आउन आव्हान गरिरहेका हुन्छन् । यदि समयमा लाभांश रकम लिन नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमाजम्मा गरिने व्यवस्था रहेको छ ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश कुमार वैद्य पुराना सेयरधनीहरुको डिम्याट खाता नहुँदा लाभांशको ठूलो रकम कोषमा जाने गरेको बताउँछन् । अधिकांश सेयरधनीहरुको पुरा विवरण नमिलेका कारण पनि सेयरधनीहरु लाभांश रकम लिन नआएको हुन सक्ने उनले बताए ।

‘कुनै–कुनै सेयरधनीहरुको विवरण मिलेको हुँदैन, जस्तै, डिम्याटमा खाता नम्बर नराखेको हुँदा सेयरधनीहरुको लाभांश रकम निलिएको हुन्छन्, पहिला–पहिला आईपीओ भर्दाखेरि सेयरधनीहरुको सूचना राख्नुपर्ने हुन्थ्यो, त्यो सूचनाको पुरा विवरण नराखेको हुँदा लाभांशको रकम कोषमा जम्मा हुन्छ,’ उनले भने ।

पछिल्लो समय डिम्याट खातामा बैंकको खाता लिंक गरिएको हुँदा नयाँ मुद्धाहरु नहुन सक्ने उनले बताए । तर, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनु पर्ने उनले बताए । उनका अनुसार सेयरधनीहरुको खाता नम्बर अपडेट भएको छ भने सिधैं डिम्याट खातामा राख्न मिल्छ । यदि खाता नम्बर अपडेट गराएको छैन भने अपडेट गराउनुपर्ने उनको भनाइ छ ।

‘धेरै सेयरधनीहरुलाई जानकारी नभएर, सेयरधनीहरुलाई सूचना वा सचेतना नभएर लाभांश रकम लिन नआएको हुन सक्छन्, यदि सूचना निकालेको समयसीमाभित्र लिन नआएपछि कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘सेयर लगानी गरेपछि के भयो, कस्तो भइरहेको छ भनेर जानकारी सेयरधनीहरुले पनि लिनु पर्ने हुन्छ, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनुपर्छ ।’

यस अवधिमा प्रभु बैंकलेसेयरधनीहरुले बुिझलिन बाँकी रहेको रकम लगाानीकर्ता सरंक्षण कोषमा जम्मा गरेको जनाएको छ । बैंकबाट सेयरधनीहरुले लिन बाँकी रहेको लाभांश शुन्यमा झारेको छ ।

ग्लोबल आइएमई क्यापिटलका सीईओ पारषमणी ढकाल सेयरधनीहरु लिन नआएका कारण लाभांश रकम कोषमा जम्मा हुने गरेको बताउँछन् । कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको समेत वास्ता नभएको उनले बताए ।

‘सेयरधनीहरु लाभांश रकम लिन आउँदैनन्, नआएपछि त्यो रकम कोषमा जम्मा गर्नुपर्छ, कतिपय सेयरधनीहरु नेपाल बाहिर पनि हुन सक्छन्, कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको वास्ता पनि हुँदैन,’ उनले भने, ‘यदि सेयरधनीहरुले चाहनाराखेको भए आफ्नो पैसा कहाँ छ भनेर खोज्नु पर्छ, सेयरधनीहरुमा सूचना नपुगेको र आफूले लगानी गरेको सम्पत्तिको वास्ता नहुन सक्छ ।’

खाता अपडेट गरेको दोस्रो दिननै लगानीकर्ताको खातामा लाभांश रकम जम्मा गरिदिने गरेको उनले बताए । तर, पछिल्लो समय पनि सेयरधनीहरुको कारण समस्या आउने गरेको उनको भनाइ छ ।

‘अहिले पनि खाता अपडेट नभएको, खातालाई निरन्तरता नदिएको, कतिपय खाताहरुमा डेबिट र क्रडिट गर्न नमिल्ने रहेका छन्, यस्तो अवस्थामा गाह्रो हुन्छ, लगानीकर्ताका कारण पछिल्लो समय खाता दिइसकेपछि खाता नमिल्ने गरेको छ,’ उनले भने ।

मर्जरमा गएका बैंकहरुको लाभांश रकममा साविक नामेट भएका बैंकको रकम भने जोडिएको छैन । यदि मर्जमा विलय भएका बैंकको बुझिलिन बाँकी लाभांश रकम जोड्ने हो सेयरधनीहरुले बुझिलिन रहेको रकम बढी हुने देखिन्छ । साविकको बैंक अफ काठमाण्डू, मेगा बैंक,सेञ्चुरी बैंक, एनसीसी बैंक, सिभिल बैंकको लाभांश रकम भने यसमा जोडिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.