नेपालमा २ लाख घरपरिवारले कार चलाउँछन्, घरजग्गा पुरुषको नाममा बढी

  २०७९ चैत १० गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा भएका कुल ६६ लाख ६६ हजार बढी घरपरिवारमध्ये २ लाख परिवारले मात्रै कार प्रयोग गर्ने तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को राष्ट्रि«य जनगणनाका अनुसार २ लाख ४ हजार ९९० घरपरिवारले मात्रै कार/जीप तथा भ्यान प्रयोग गर्ने देखिएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरपालिकाका १ लाख ८१ हजार ३१५ र गाउँपालिकाका २३ हजार ६७५ घरपरिवारले कार प्रयोग गर्ने देखिएको हो । ३.१ प्रतिशत घर परिवारमा मात्रै कार/जीप र भ्यान छ भएको तथ्यांकले देखाएको छ ।

जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरुका विवरण संकलनगर्न रेडियो सुविधा, टेलिभिजन, ल्याण्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, कार/जीप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिब मेशिन, एयर कन्डिसनर लगायत १४ वटा छनोट विकल्पहरु सहितको प्रश्न सोधिएको तथ्यांकमा उल्लेख छ ।

प्राप्त नतिजाअनुसार ३.९ प्रतिशत परिवारहरुमा उल्लिखित कुनै पनि साधन/सुविधाहरु उपलव्ध नभएको उल्लेख छ भने ९६.१ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको पाइएको छ ।

यस नतिजाअनुसार ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२ प्रतिशतमा साइकल उपलव्ध रहेको देखिन्छ । यसैगरी नगरपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार केवल २.८ प्रतिशत रहेको देखिन्छ भने गाउँपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार ६.० प्रतिशत रहेको देखिन्छ ।

यस्तै, कुल परिवारको ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ । महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत र घर मात्र भएका परिवार २.३ प्रतिशत रहेका छन् । समग्रमा २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको देखिन्छ । गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरु ९.० प्रतिशत रहेको थियो ।

प्रदेशगत रुपमा हेर्दा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेका परिवारको संख्या प्रदेश १ मा २८.५ प्रतिशत, गण्डकी प्रदेशमा २८.३ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत रहेको देखिन्छ । नेपालभर घरजग्गा नहुने परिवारको संख्या ७४.६ प्रतिशत अर्थात ४९ लाख ६६ हजार ५४८ देखिएको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकमा उल्लेख भए अनुसार नेपालमा नेपालमा महिलाको नाममा घर मात्रै भएका १ लाख ५६ हजार, जग्गा मात्रै भएका ६ लाख ४३ हजार, घरजग्गा दुवै भएका ७ लाख ८८ हजार र १ लाख घर परिवारले कुनै पनि तथ्यांक समावेश नगरेको उल्लेख छ । कुल ६६ लाख घर परिवार मध्ये करिब ५० लाख परिवारको घरजग्गा नेपालमा महिलाको नाममा छैन । यसले पनि महिनाको नाममाभन्दा पुरुषको नाममा बढी घरजग्गा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.