महासंघको निर्वाचनमा तीन समूह प्रतिस्पर्धा गर्दै, भरत पछि हट्दा गोपाल र सुकुन्तलाल अगाडि

  २०७९ चैत १० गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा तीन समूहबीच प्रतिस्पर्धा हुने सम्भावना अधिक भएको छ । महासंघको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदै आएकोमा पहिलो पटक तीन वटा समूह नै प्रतिस्पर्धामा उत्रने भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार हुँदा निर्वाचन पनि दुई पटक हुने सम्भावना अधिक रहेको जानकारहरु बताउँछन् । अध्यक्ष हुनको लागि ५१ प्रतिशत मत ल्याउने पर्ने नियम छ । कसैले पनि ५१ प्रतिशत मत पाउन नसकेमा बढी मत पाउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुने भएको छ भने उनीहरुले पदाधिकारीको नाम टुङ्गो लगाउने अन्तिम कसरतमा छन् । अञ्जनको समूहबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एशोसियट उपाध्यक्षमा जोत्सना श्रेष्ठ फाइनल भएको छ ।

उमेशलालको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा हेमराज ढकाल पक्का भएका छन् । एशोसियट उपाध्यक्षमा गोपाल खनाल उठ्ने सम्भावना छ । एशोसियटतर्फबाट उपाध्यक्षका आकांक्षी भरतराज आचार्यले निर्वाचनको मुखैमा अनिच्छा प्रकट गरेपछि निर्वाचन बरिष्ठ उपाध्यक्षका आकांक्षी उमेशलाल श्रेष्ठको समूह नयाँ उम्मेदवारको खोजीमा लागेको छ ।

रामचन्द्र संघाईको टिमबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एशोसियट उपाध्यक्षमा सन्दीप अग्रवालले उम्मेदवारी दिने तयारी गरिएको छ । रामचन्द्र संघाईले पनि एशोसियटको उपाध्यक्षमा भरतराज आचार्यलाई उम्मेदवार बनाउने बताउँदै आएका थिए । आचार्य व्याक भएपछि सन्दीप अग्रवाललाई एशोसियटतर्फ र सुकुन्तलाल हिराचनलाई वस्तुगततर्फको उपाध्यक्ष बनाउने कसरत गरिरहेको छन् ।

अञ्जनले आफ्नो समूहका उपाध्यक्षको उम्मेदवार गत साता नै टुंग्याएका छन् भने उमेशलाल र रामचन्द्रले आज भोलिमै उम्मेदवारको टुङ्गो लगाउने भएका छन् । उम्मेदवार तय गर्ने विषयमा विभिन्न समूहमा छलफल गर्न शुक्रबार बिहानैदेखि व्यवसायीहरु जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.