सडकमा फोहर फाल्ले २ जनालाई १२ हजार जरिवाना

  २०७९ चैत १० गते ६:४४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै २ जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

कामपाले कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जरिवानास्वरुप कामपाले मण्डललाई २ हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । कामपाले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिवाना गरेको हो । त्यस्तै मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिवाना गराइएको हो ।

कामपाले पछिल्लो समय सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।

फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई ५ सयदेखि ५ हजारसम्म जरिवानासमेत तिराउने गरेको छ ।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । उक्त गाडीमा नै फोहर राख्नका लागि आग्रह गर्दै आएको छ । महानगरको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।

उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन २ सय गाडी फोहर बोकर बञ्चरेडाँडामा जाने गर्दछन् । वर्षाको समय सुरु नभएकाले अहिले फोहरको अन्तिम व्यवस्थापन गर्नका लागि कुनै अवरोध नभएको बताइएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलवासीले भने यसअघिको सम्झौता पालना नभए पुनः फोहर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.