खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

  २०७९ चैत १० गते ६:१२     विकासन्युज

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् ।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले बताए ।

‘आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ, खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । साप्सुखोलामा त्यस्तो देखिन । यसले पर्यावरणमा असर पुगेको छ,’ उनले भने ।

वि.सं. २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १० स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत् आयोजना) सँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् ।

साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन् ।

स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए ।

‘ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ, आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु, प्रवद्र्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ,’ उनले भने ।

कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए ।

‘ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ, सिडियो साबसँग पनि कुरा भएको छ, अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौँ,’ उनले भने ।

करिब १ अर्ब ५० करोड रुपैयाँ लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड ७ हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.