को बन्दैछन् अर्थमन्त्री ? कसको सम्भावना बलियो ?

  २०७९ चैत ९ गते १८:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत प्राप्त गरेपछि उनी मन्त्रिमण्डल विस्तारको तयारीमा छन् । सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पनि विश्वासको मत पाइसकेपछि उनी अब मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका हुन् ।

यसअघि नेकपा एमालेसँग सत्तासाझेदार गरेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, बिचमै एमालेसँगको गठबन्धन छोडेपछि उनले दोस्रो पटक विश्वासको मत लिनु पर्यो । अहिले उनले काँग्रेस लगायतका दलहरुसँग गठबन्धन गरेका छन् । काँग्रेससँग गठबन्धन गरेसँगै अब नयाँ मन्त्री बन्नेहरुको लविङ सुरु भएको छ । यसअघि नेकपा एमालेबाट अर्थमन्त्री रहेका विष्णु्प्रसाद पौडेलले सत्ताबाट बाहिरिएर मन्त्री पदबाट राजीनामा दिएसँगै अहिले अर्थमन्त्रालय नेतृत्वविहिन अवस्थामा छ ।

सरकारको खर्च बढाएर विकास निर्माणका कामहरुलाई तीव्रता दिनु पर्ने समयमै अर्थमन्त्रालय नेतृत्वविहिन हुँदा काम गर्न पनि समस्या भइरहेको स्वयम् मन्त्रालयका कर्मचारीहरु पनि बताइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रिमण्डल गठनका लागि सक्रियता बढाएसँगै अर्थमन्त्री बन्न चाहनेहरुको पनि लविङ उत्तिकै बढेको छ ।

अर्थमन्त्रालयको नेतृत्व गर्न काँग्रेसले रुची देखाएको पनि बुझिएको छ । काँग्रेसभित्रबाट पनि अहिले तीन जनाको नाम चर्चामा छ । अर्थमन्त्री बन्नका लागि काँग्रेस सभापति शेर बहादुर देउवाको निवासमा लविङ गर्न पुग्नेहरुको पनि उत्तिकै भीड लाग्ने गरेको छ । स्रोतका अनुसार अहिले काँग्रेसले करिब एक दर्जन मन्त्रालयको नेतृत्व मागेको छ । अर्थ मन्त्रालय छुटाउनै नहुने चर्चा काँग्रेस वृतमा छ ।

अहिले नेपाली काँग्रेसभित्र अर्थमन्त्रीका लागि प्रकाशशरण महत, विनोद चौधरी र उदय शमशेरको नाम चर्चामा रहेको स्रोतको भनाइ छ । यसअघि काँग्रसका महामन्त्री गगनको नाम पनि अर्थमन्त्रीका रुपमा चर्चामा थियो । राजधानीमा अर्थतन्त्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा उनको सहभागिताले पनि धेरैले उनलाई अबको अर्थमन्त्रीका रुपमा लिएका थिए ।

तर, उनले आफु मन्त्रीको दौडमा नरहेको प्रष्ट पारेपछि उनी अर्थमन्त्री बन्न सक्ने अड्कलबाजीहरुमा पूर्णविराम लागेको छ । ‘मैले पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो, न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ,’ उनले गत साता राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए ।

अर्थमन्त्रीका लागि महत, चौधरी र शमशेरको चर्चा काँग्रसभित्र हुन थालेको छ । महत पार्टी सभापति देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् । उसो त यसअघि पनि अर्थमन्त्री बनिसकेका ज्ञानेन्द्र कार्कीले पनि आफु अर्थमन्त्री बन्न सक्षम भएको भन्दै दाबी गरेका छन् । तर, उनको दाबी कमजोर रहेको बुझिएको छ ।

कसको सम्भावना बलियो ?

अर्थमन्त्रालयको लागि दौडधुप गरिरहेको डा. प्रकाशशरण महत सभापति देउवाका प्रिय पात्रका रुपमा चिनिन्छन् । यसअघि परराष्ट्र मन्त्री भइसकेका उनी अब अर्थमन्त्रीका लागि उपर्युक्त पात्र भएको भन्दै लविङ गरिरहेका छन् ।

अर्थशास्त्रमा विद्यावारिधी गरेका उनी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री समेत हुन् । उनी पूर्व अर्थमन्त्री डा. रामशरणमहतका भाइ पनि हुन् । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिसकेको अनुभव पनि छ । त्यसैले पनि अर्थमन्त्रीको बलियो पात्रका रुपमा धेरैले उनलाई लिएका छन् ।

यस्तै, नेपालको एकमात्रै डलर अर्बपतिको रुपमा परिचित विनोध चौधरी पनि अर्थमन्त्री बन्ने दौडमा छन् । चौधरी पहिलो संविधानसभामा नेकपा एमालेका समानुपातिक सांसद थिए भने त्यसपछि एमाले परित्याग गरेर काँग्रेसबाट सासंद बनेका थिए । अहिले भने उनी प्रत्यक्ष निर्वाचित सांसद बनेका छन् । समानुपातिक सांसद हुँदादेखि नै अर्थमन्त्रीको लविङमा रहेका चौधरी यस पटक भने प्रत्यक्षबाटै विजयी भएकोले पनि अब अर्थमन्त्री बन्नु पर्ने अडान राख्दै आएका छन् ।

यस्तै, अर्थमन्त्रीको दौडमा लागेका अर्का सासंद हुन् उदय शमशेर । ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका उनी पनि आफुलाई अर्थमन्त्रीका रुपमा अब्बल पात्रका रुपमा चिनाइरहेका छन् । आफुले अर्थ राज्यमन्त्रीका रुपमा काम गरिसकेको अनुभव भएकोले पनि अब अर्थमन्त्री बन्न सक्षम भएको उनको पनि अडान छ । यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि उनले अर्थमन्त्रीका लागि दाबी गरेका थिए । तर, त्यतिखेर माओवादीको भागमा अर्थमन्त्री परेर उनी ब्याक हुन विवश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.