सानिमा रिलायन्सको एकीकृत कारोबार शुभारम्भ, नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने अपेक्षा

  २०७९ चैत ९ गते ६:३१     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुभारम्भ गर्न लागेका हुन् ।

मर्जरमा जानको लागि यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो ।

दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १:१ स्वाप रेसियोमा एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

कुन सूचकमा कत्रो बन्यो कम्पनी ?

एकीकृत कारोबार भएपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै, गत माघसम्मको तथ्यांक अनुसार कम्पनीको प्रथम बीमाशुल्क कूल एक अर्ब ६७ करोड र कूल बीमाशुल्क ३ अर्ब २६ करोड नाघ्ने छ । सानिमा लाइफले गत माघसम्ममा ४७ करोड ५२ लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने रिलायन्स लाइफले ५२ करोड १५ लाख रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, कूल बीमाशुल्क पनि सानिमा लाइफको एक अर्ब ४८ करोड र रिलायन्स लाइफको एक अर्ब ७८ करोड रुपैयाँ आर्जन भएको थियो ।

मर्जपश्चात् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बन्नेछन् । त्यस्तै, नयाँ बन्ने कम्पनीको सञ्चालक समितिसँगै अध्यक्ष र वरिष्ठ डीसीईओको विषयमा भने आज बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गर्ने कम्पनी श्रोतले बतायो ।

नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने
मर्जर पश्चात् नयाँ सिनर्जीका साथ बन्ने कम्पनीले भविष्यमा थप राम्रो प्रतिफल प्रदान गर्ने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियाले बताए ।

त्यस्तै, सानिमा लाइफका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले दुबै कम्पनी एक आपसमा गाभिए पश्चात सञ्चालन हुने कम्पनीले नेपालको बीमा क्षेत्रमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्ने बताए । त्यसको लागि आवश्यक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने, संस्थागत एवम् व्यवसायिक सुशासन, पारदर्शिता जस्ता नीतिहरु अवलम्बन गर्ने, सेवाग्राहीको आवश्यकता अनुरुपको नवीन बीमा योजनाहरु तर्जुमा गर्ने लक्ष्य रहेको उनको भनाई छ । साथै, एक आपसमा गाभिए पश्चात् कम्पनीको पुँजी वृद्धिको साथै कम्पनीको गुणस्तर, व्यवसायमा पनि बढ्ने उनले बताए ।

दुई कम्पनीबीचको यो मर्जर जीवन बीमा क्षेत्रकै दोश्रो मर्जर हो ।

यस्तो बन्यो लोगो : कलर कम्बिनेस बराबर, स्लोगन रिलायन्सकै
मर्जरपछि बनेको सानिमा रिलायन्स कम्पनीको लोगोमा सानिमा लाइफ र रिलायन्स लाइफ दुबै कम्पनीको लोगोको मिश्रण छ । दुबै कम्पनीको कर्पोरेट कलर कम्बिनेस बराबर रुपमा गरिएको देखिन्छ । स्लोगन भने रिलायन्स लाइफकोलाई नै निरन्तरता दिइएको छ । रिलायन्स लाइफको ‘खुलेर जिऔं’ भन्ने स्लोगन अब नयाँ कम्पनी सानिमा रिलायन्सकोमा देख्न सकिन्छ । यसअघि सानिमा लाइफ इन्स्योरेन्सको स्लोगन भने ‘निश्चिन्त भवः’ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.