२०७९ चैत ८ गते १९:५६ विकासन्युज
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेको छ । प्राधिकरणले धान, मकै, गहुँ, जौ र कोदो लगायतका खाद्यान्न बालीको पनि बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो ।
प्राधिकरणले कृषि बीमालेखअन्तर्गत यो बीमालेख जारी गरेको हो । २०७९ फागुन १८ गते जारी भएको यो बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ ।
यो बीमालेखले विभिन्न ८ प्रकारको क्षतिको रक्षावरण गर्ने छ । जसमा अग्निजन्य (आगलागी वा आगो), हावाजन्य (हुरीबतास, आँधिबेहरी वा तफान), पानीजन्य (वेमौसमी वर्षा, असिना, बाढी वा डुवान) मौसमजन्य (खडेरी, तुसारो), भूमिजन्य(भूकम्प वा पहिरो), चट्याङ्जन्य (चट्याङ्), रोग तथा किराजन्य (रोग र किरा), आकस्मिक तथा दुर्घटनाजन्य (जंगली जनावरले खाएर, कुल्चिएर, माडेर वा खोस्रेर) बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण गर्ने छ ।
२ लाखसम्मको दुर्घटना बीमा
यो पोलिसी अन्तर्गत बीमा गरेबापत बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउने छन् । अर्थात बीमा अवधिभित्रमा आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, हड्डी, एक वा दुबै हात र एक वा दुबै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई २ लाख रुपैयाँ भुक्तानी गर्ने छ ।
बीमालेखको अवधि
खाद्यान्न बाली बीमालेख जारी गर्दा घण्टा र मिनेटसमेत खुल्ने गरी समय उल्लेख गर्नुपर्ने छ । बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । त्यस्तै, बीमालेखको अवधि समाप्त हुने मितिको मध्यरात १२ बजे बीमा अवधि समाप्त हुने छ ।
खाद्यान्न बालीको लागि बीमालेखको अवधि बालीको जात, सिफारिस क्षेत्र तथा पाक्ने दिनलाई आधार लिई अधिकतम ११ महिनासम्मको हुने छ । रैथाने जातको हकमा भने सम्बन्धित जिल्लास्थित कृषि हेर्ने कार्यालय वा स्थानीय तहको सम्बन्धित शाखाले सिफारिस गरे बमोजिमको हुने व्यवस्था छ ।
त्यस्तै, एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीको आंशिक रुपमा बीमा गर्न नपाइने उल्लेख छ ।
प्रिमियम अधिकतम ५ प्रतिशत
खाद्यान्न बालीको बीमाशुल्क (प्रिमियम) बीमाङ्क रकमको ३ देखि ५ प्रतिशतसम्म हुने छ । यो बीमालेख अनुसार धान, मकै र गहुँ बालीको हकमा बीमांक रकमको ५ प्रतिशतका दरले र जौ र कोदोको बालीको हकमा बीमांक रकमको ३ प्रतिशतका दरले प्रिमियम कायम हुने व्यवस्था छ ।
उत्पादनमा आधारित खाद्यान्न बाली बीमालेखको पूर्णपाठ
Copyright © 2023 Bikash Media Pvt. Ltd.