२०७९ चैत ८ गते १६:२१ विकासन्युज
साझेदारीका लागि हस्ताक्षर गर्दै खल्तीका रभिन्स पोख्रेल (बाँया) र बिमानका सुरज भट्टराई (दाँया)
काठमाडौं । समयसँगै सबै क्षेत्रका सेवा सुविधाहरू स्मार्ट बनिरहेका छन् । आर्थिक कारोबारको विषयमा पनि डिजिटल सिस्टमले निकै ठूलो फड्को मारिसकेको छ । शैक्षिक क्षेत्रमा पनि विद्यार्थी, अभिभावक तथा स्कुल कलेज आफैले पनि पठनपाठन सँगसँगै दैनिक रूपमा विभिन्न कार्य सम्पादन गर्नुपर्ने हुन्छ । जसमध्ये संवेदनशील कार्य हो, फी (शुल्क) व्यवस्थापन । सामान्यतया विद्यार्थी भर्ना भएदेखि पढाइ नसक्दासम्म पटक पटक शुल्कको विषय जोडिन्छ नै ।
यसलाई मध्यनजर गर्दै डिजिटल वालेट खल्ती र बीआईएम एशोसियसन अफ नेपाल (बिमान)ले ‘खल्ती-डिजिटल शैक्षिक सेवा’ शुरु गर्ने भएका छन् । सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा साझेदारी भई हस्ताक्षर समेत भएको छ ।
पैसा साथमै बोक्नु पर्ने, फी तिर्नकै लागि काम नै छाडेर बैंक तथा स्कुलमा लाइन बस्नुपर्ने जस्ता अनेकन समस्याहरू विद्यार्थी अभिभावकलाई परिरहेको छ । विद्यार्थी पक्ष मात्र नभई कलेज प्रशासनलाई समेत त्यही कामका लागि मानव स्रोत देखि समय, झन्झट तथा हातबाट पैसाको कारोबार हुँदा रोग संक्रमण हुने, नोट च्यातिने र केही नक्कली पैसाको लेनदेन हुन सक्ने जोखिम रहेको खल्तीका अफिसर रभिन्स पोखरेल बताउँछन् ।
यस्ता अनेकौं समस्याका समाधानसँगै शैक्षिक क्षेत्रमा आवश्यक डिजिटल सेवा सुविधा खल्तीले दिने संस्थाका बिजनेस हेड निरज कार्कीले बताए । ‘हामीले जुन तरिकाले हाम्रो डिजिटल स्कुल कलेजका लागि सिस्टम बनाएका छौं यसले शतप्रतिशत सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
सूचना प्रविधि व्यवस्थापन सम्बन्धित शैक्षिक संस्था भएकाले विगत केही समयदेखि नै कुनै न कुनै माध्यमबाट प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कार्य गरिरहेको बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले बताए । ‘खल्तीसँगको यो सहकार्यले शैक्षिक संस्था तथा उक्त संस्थासँग सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई यसले थप सहज गराउने विश्वास छ,’ अध्यक्ष भट्टराईले भने ।
के हो खल्ती-डिजिटल शैक्षिक सेवा ?
खल्ती-डिजिटल शैक्षिक सेवाअन्तर्गत कुनै पनि शिक्षित संस्थाले सिधै खल्तीको एप, वेब तथा आफ्नै अनलाइन प्लेटफर्ममा आफ्नो पेमेन्ट प्रोफाइल बनाई सजिलै भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत आफ्नो संस्था अनुरूप कस्टमाइज पेमेन्ट डिजाइन गर्न सक्नेछन् । सजिलो पेमेन्टसँगै निःशुल्क स्प्यारो एसएमएस सिस्टम, रिजल्ट सिस्टम तथा बल्क टपअप, बैंक ट्रान्सफर तथा खल्तीबाट खल्ती ट्रान्सफरका लागि कर्पोरेट अकाउन्ट, क्यु आर सिस्टम समेत प्रधान गरिने अफिसर रभिन्स पोखरेलले जानकारी दिए ।
साथै, यो सेवा प्रयोग गर्न पनि सहज छ । कुनै पनि शैक्षिक संस्थाले आफ्नो कम्पनी दर्ता प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र र आधिकारिक लोगो सहित खल्तीमा सम्पर्क गरेमा बाँकी प्रकृया खल्तीबाटै अघि बढाइने छ । त्यस्तै, खल्तीको डिजिटल स्कुल कलेज सिस्टम इन्टिग्रेट गर्न कुनै शुल्क नलाग्ने खल्तीका तर्फबाट रोजिना चौलागाईंले जानकारी दिइन् ।
त्यस्तै, खल्तीका सह संस्थापक अरबिन्द शाह पनि शैक्षिक क्षेत्रलाई प्रविधियुक्त र पहुँचमा पुर्याउन कम्पनी निरन्तर लागिपरेको बताउँछन् । साथै, कलेज र विश्वविद्यालयको ढाँचा अनुरूप सिस्टमलाई कस्टमाइज गराउनु खल्तीको अर्को उद्देश्य रहेको पनि उनले बताए ।
हालसम्म सेन्ट जेभियर्स, ग्लोबल म्यानेजमेन्ट, सेन्ट म्यारिज, मदरल्याण्ड, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट लगायतका अन्य स्कुल कलेज खल्तीमा आवद्ध भइसकेका छन् । उनीहरुले खल्तीको सेवा लिई आफ्नो सिस्टम समेत डिजिटलाइज गरिसकेको जनाइएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.