माथिल्लो अरुणमा १० अर्ब लगानी गर्दै नागरिक लगानी कोष, आयोजना निर्माणसँगै आईपीओ जारी गर्ने

  २०७९ चैत ८ गते १४:२५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि नागरिक लगानी कोष सकारात्मक रहेको बताइएको छ ।

माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी गर्नका लागि दुवै पक्षबीच विभिन्न पटक छलफल भएको लगानी कोषका उच्च अधिकारीले विकासन्युजसँग बताए । लगानी कोष स्रोतका अनुसार माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि कोषबाट १० अर्ब रुपैयाँ रकम माग गरिएको छ ।

लगानी कोषले आगामी योजनामा माथिल्लो अरुणमा लगानी गर्ने भनेर तालिकामा नै राखेको छ । कोषले माथिल्ला अरुण जलविद्युतमा लगानी गर्ने भनेर गत भदौ २० गते एमओयू नै गरिसकेको बताइएको छ ।

‘अपर अरुणमा लगानी गर्ने गरी योजना अघि बढेको छ, अपर अरुणले १० अर्ब रुपैयाँ कर्जा माग गरेको छ, उसको डिय डेलिजेन्स रिपोर्टदेखि फिजिबिलीटी रिपोर्ट सबै आएपछि प्रक्रिया अघि बढाइन्छ,’ कोषका एक उच्च अधिकारीले भने, ‘यो बीचमा दुई÷तीन पटक छलफल भइसक्यो, अपर अरुणसँग एमओयू पनि भइसक्यो, शैद्धान्तिक रुपमा लगानी गर्ने भनेर सम्झौता भयो ।’

हाललाई लगानी गर्ने भनेर शैद्धान्तिक सहमति मात्रै भएकाले रकम यकिन नभएको उनको भनाइ छ । १० अर्ब रुपैयाँ माग गरेको भएपनि त्यो रकम अन्तिम नै नभएको बताइएको छ ।

‘उसको कूल पोर्टफोलियोमा नागरिक लगानी कोषबाट १० अर्ब जति आवश्यक पर्छ भनिएको छ, अहिले नै कति रकम दिने भनेर ठ्याक्कै निर्णय भएको छैन, सबै डकुमेन्टेसन भइसकेपछि मात्रै सीआईटीले जवाफ दिन्छ, सीआइटीको बोर्डले स्वीकृत दिनुपर्छ,’ उनले भने । उनका अनुसार हाललाई अन्य कुनै नयाँ कुनै योजना आएको छैन ।

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अगुवाइ नेपाल विद्युत प्राधिकरणले गरेको छ ।

अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व विश्व बैंकले गर्नेछ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)ले स्वदेशी बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरण गर्नेछ ।

साथै, आयोजनामा नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरीका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ ।

आयोजना निर्माण गर्न स्थापना गरिएको अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमा प्राधिकरणको सबैभन्दा बढी सेयर स्वामित्व रहने बताइएको छ । निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायत सहित १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको छ । माथिल्लो अरुणमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गरेर रकम संकलन गरिनेछ ।

करिब १ खर्ब ५० अर्ब रुपैयाँ ऋणमध्ये ९७ अर्ब विश्व बैंक, युरोपेली लगानी बैंक जस्ता वहुपक्षीय अन्तर्राष्ट्रिय विकास साझेदारबाट सहुलियपूर्ण ऋण र ५३ अर्ब अर्ब स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने छ ।

आयोजनाका अनुसार सन् २०२४ डिसेम्बरदेखि निर्माण शुरु हुने कम्पनीले जनाएको छ । निर्माण शुरु हुने बित्तीकै सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

‘एचआइडिसिएलको अगुवाइमा हुने सहवित्तीयकरणमा नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण प्रवाह गर्ने छन्, एचआइडिसीएलले नागरिक लगानी कोषसँग एमओयू गरेको हो, स्वदेशी पुँजी संकलनको काम एचआईडिसिएलले गर्नेछ,’ कम्पनीका एक कर्मचारीले विकासन्युजसँग बताए ।

अहिले कुन संस्थाबाट कति रकम उठाउने भनेर अन्तिम सम्झौता नभएको कम्पनीका ती कर्मचारीले बताए । तर, एचआईडिसीएलले ५३ अर्ब रुपैयाँ जुटाउने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘अहिले विद्युत प्राधिकरणले लगानी गरिरहेको छ, पुर्वाधार निर्माण भइरहेका छन्, सन् २०२४ डिसेम्बरदेखि निर्माण शुरु गर्ने लक्ष्य छ, रकम जुटाउने काम विश्व बैंक र एचआईडिसीएलले गर्छ,’ उनले भने- ‘निर्माण शुरु हुने बित्तिकै आईपीओ जारी गर्छौं ।’

माथिल्लो अरुणबाट अहिले देशमा खपत भइरहेको ऊर्जाको झण्डै आधार ऊर्जा उत्पादन हुने अनुमान छ । आयोजना तुलनात्मक रुपमा सस्तो पनि त्यसैले धेरैलाई सहभागी बनाएर नुमना परियोजनाको रुपमा फाष्ट ट्रयाकमा अगाडि बढाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.