अब अनलाइनबाटै बीमा एजेन्ट र सर्भेयरको लाइसेन्स नवीकरण हुने, डुब्लीकेशन भए के गर्ने ?

  २०७९ चैत ७ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्न शुरु गरेको छ । प्राधिकरणले गत चैत ५ गतेदेखि नै उक्त प्रणाली मार्फत अभिकर्ताको व्यवस्थापन शुरु गरेको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको सामान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनको लागि सो कार्य शुरु गरेको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ता तथा बीमा सर्भेयरको अनुगमनमा सहज हुने भन्दै एक कार्यक्रमबीच सो प्रणालीको उद्घाटन गरेका हुन् ।

नयाँ प्रणालीमामार्फत अभिकर्ताले कसरी गर्ने लाइसेन्स नवीकरण ?

यो व्यवस्था लागू भएसँगै बीमा अभिकर्ताले लाइसेन्स नवीकरण गर्न कम्पनी धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । बीमा प्राधिकरणले अनलाइन प्रणाली लागू गरेसँगै उनीहरुले अब घरबाटै आफ्नो लाइसेन्स नवीकरण गर्न सक्ने छन् ।

त्यसको लागि बीमा अभिकर्ताहरु बीमा प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । उक्त वेवसाइटमा गई अभिकर्ताले इ-सर्भिसेस् तथा अनलाइन पेमेन्ट सर्भेयर तथा एजेन्ट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसमा गइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स अर्थात इजाजतपत्र ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढी कम्पनीमा आवद्ध) भए वा नभएको पहिचान गर्नुपर्छ ।

यदि बीमा अभिकर्ता एउटा मात्र कम्पनीमा आवद्ध भएको पाइएमा उसले नवीकरणका लागि विभिन्न दुई विवरण टिप्नु पर्छ । एउटा आफ्नो लाइसेन्स नम्बर, अर्को उक्त लाइसेन्स नम्बर जारी भएको मिति । जुन मिति नेपाली नभई अंग्रेजी डेट नै हुनुपर्ने व्यवस्था छ ।

अभिकर्ता एकभन्दा बढी बीमकसँग आवद्ध भएमा के गर्ने ?

यदि बीमा अभिकर्ता एकभन्दा बढी बीमक (कम्पनी) सँग आवद्ध भएमा अभिकर्ताले थप प्रकृया पुरा गर्नुपर्ने हुन्छ । सिस्टमले देखाए बमोजिमको कम्पनीहरुमध्ये आफूले एउटा मात्रै कम्पनी छान्नु पर्छ । त्यससँगै आफूले छानेको कम्पनी सहि छ वा छैन एकीन गर्नुपर्ने हुन्छ ।

कम्पनी एकीन गरिसकेपछि सिस्टममा भएको मोबाईल नम्बरमा गएको ओटीपी (वान् टाइम पासवर्ड) सिस्टममा राख्नुपर्ने छ । तर उक्त ओटीपी कोड एक दिनमा बढीमा दुई पटक मात्रै जेनरेट गर्न सकिने सिस्टम छ । जसको समयसीमा पनि १० मिनेटको मात्रै रहने छ ।

त्यस्तै, ओटीपी राखिसकेपछि बीमा ऐन, २०७९ को दफा ९१(७) बमोजिम समान किसिमको एक बीमक एक अभिकर्ता छनौट भएको मानिने छ । सो अनुसार छनौट भइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र उक्त नम्बर जारी गरिएको मिति (अंग्रेजी मिति) टिप्नुपर्ने हुन्छ ।

यसपछि मात्रै अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण गर्न पाउने छन् । उनीहरुले नेपाल क्लियरिङ हाउस, कनेक्ट आईपीएस, इसेवा, प्रभु टिभी, सेल पे, खल्ती, आइएमई पे लगायतका गेटवेहरुबाट लाइसेन्स नवीकरण गर्न सक्ने छन् । बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुले विभिन्न भुक्तानी सेवा प्रदायक संस्था मार्फत जुनसुकै समयमा नवीकरण शुल्क तिर्न सक्ने छन् । उक्त सेवा उनीहरुले वेब र मोबाइल एप दुबै माध्यमबाट पाउन सक्ने छन् ।

साथै, माथिका मध्ये कुनै एक गेटवेबाट भुक्तानी गरेपछिको भौचर सुरक्षित राख्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अभिकर्ताको लाइसेन्स नवीकरणको लागि प्राप्त भएको निवेदन कम्पनीको आईआरएमआईएस सिस्टममा जाने छ । उक्त सिस्टमबाट प्राधिकरणमा सिफारिस भई आएपछि मात्रै प्राधिकरणले एप्रुभ गर्छ । प्राधिकरणले एप्रुभ गरेपछि मात्रै लाइसेन्स नवीकरण भएको मानिने समेत जनाइएको छ ।

सर्भेयरले कसरी नवीकरण गर्ने ?

बीमा सर्भेयरको लाइसेन्स नवीकरणको प्रकृया पनि अभिकर्ताको जस्तै लगभग उस्तै छ । अभिकर्ताले प्राधिकरणको वेवसाइटमा भएको एजेन्ट म्यानुअलमा जानुपर्थ्यो भने सर्भेयरले सर्भेयर म्यानुअल भन्ने अप्सनमा जानु पर्ने हुन्छ । त्यस्तै, अभिकर्ताको लाइसेन्स नम्बर भनेकोमा सर्भेयरले स.ई.प. ३४२/०६३/०६४ टिप्नु पर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी, बीमा सर्भेयरहरुले २०७९ सालमा शुरु गरेका र सम्पन्न गरेका कामको विवरण पनि राख्नु पर्ने बताइएको छ ।

नवीकरणमा समस्या देखिए तत्काल समाधान गर्न निर्देशन

प्राधिकरणका अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायमा वृद्धि भएसँगै बीमा अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आइहालेमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

समस्या आए के गर्ने ?

लाइसेन्स नवीकरण गर्दा सम्बन्धित सेवा प्रदायकको भुक्तानी तथा डाटा इन्ट्रीमा समस्या आएमा अभिकर्ता तथा सर्भेयरले आफू आवद्ध भएको बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, अन्य प्राविधिक समस्या आएमा बीमा प्राधिकरणको इजाजत शाखा तथा सूचना प्रविधि शाखाको नम्बर (०१-५४२८६१८, ५४२१०७९ मा कल गरी एक्स्टेन्सन नम्बर २२०, २०९, ११७) मा सम्पर्क गरी जानकारी लिन सक्ने छन् । त्यस्तै, उनीहरुले इमेल agent.support@nia.gov.np मार्फत पनि आफ्नो समस्या राख्न सक्ने प्राधिकरणले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.