ब्याजदर एकल अंकमा झार्न होटल संघको माग

  २०७९ चैत ६ गते १५:२१     विकासन्युज

काठमाडौं । होटल संघ नेपाल (हान) ले बढ्दै गएको ब्याजदर एकल अंकमा झार्न माग राखेको छ ।  सोमबार ‘आर्थिक मारमा होटल उद्योग’ ब्यानरमा पत्रकार सम्मेलनको आयोजना गरी हानले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गर्ने ऋणको साँवा ब्याज भुक्तानीको भाका बढाउनुपर्ने र कर्जा पुनःसंरचना, पुर्नतालिकीकरण आवश्यक रहेको पनि संघले बताएको छ ।

बैंकबाट लिइएको ऋणको साँवा ब्याज बुझाउने जिम्मेवारी ऋणी स्वयमकाे हुँदाहुँदै पनि कोभिड महामारीको झन्डै ३ वर्ष अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउन लगायतका नियन्त्रणमुखी नीति नियम स्वयम् सरकारबाटै अवलम्बन भएको अवस्थामा महामारीको प्रत्यक्ष मारमा परी शून्यको अवस्थामा झरेको होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखेको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट होटल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानी वृद्धि भएकोमा व्यवसायीहरूले गुनासो गरेका छन् । होटलहरु सञ्चालनमा रहेता पनि चालु खर्च धान्ने समेतको आय हुन नसक्दा घाटामा होटल सञ्चालन गर्नु परेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । उनले होटललाई सरकारले उद्योगको मान्यता दिनुपर्ने धारणा राखिन् ।

व्यवसायको आयबाट ऋणको साँवा व्याज तिर्न सक्ने अवस्थामा पुगी झण्डै २० प्रतिशत होटल व्यवसायीहरू पलायन भएको पनि संघले जानकारी दिएको । यस समस्या समाधानमा पहल नहुने हो भने नेपाली होटल व्यवसाय क्रमिक रुपमा धराशायी हुने पनि राणाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.