सत्यदीप र एसबी ग्रुपले बनाउँदै गरेको नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा

  २०७९ चैत ६ गते १५:४५     विकासन्युज

काठमाडौं । अटोमोबाइल पार्ट्स व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादनमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्ने भएकाे छ ।

यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नयाँ वर्ष २०८० पश्चात वैशाख महिनादेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकाी दिएकाे छ ।

सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले सबै संरचना निर्माणको कार्य पुरा भइसकेको बताए । ‘बैशाख देखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ, हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौ,’ उनले भने ।

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ । दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन् ।

बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुने उनी बताउँछन् । कम्पनीकाे अनुसार उक्त उद्योग स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लागत लाग्ने छ ।

एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफले हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेका छाैं, अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेका छाैं,’ उनले भने ।

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ । बजारमा २५० एमएल देखि २१० लिटर सम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ ।

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउने सर्राफले बताए । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.