अमेरिकालाई टाउको दुखाई : चिनियाँ एप टिकटक पछि अमेरिकामा क्यापकट लोकप्रिय

  २०७९ चैत ६ गते ७:५२     विकासन्युज

काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको एप टिकटक अमेरिकामा निकै चर्चित एप मध्ये पर्छ । वाल स्ट्रिट जर्नलका अनुसार पछिल्लो समयमा अर्को चाइनिज एप क्यापकट पनि अमेरिकामा निकै चर्चित भएको छ । जुन एप पनि चिनियाँ कम्पनी बाइटडान्सकै उत्पादन हो । चिनियाँ प्रविधि तथा कम्पनीलाई नियन्त्रण गर्न खोजिरहेको अमेरिकाका लागि एकपछि अर्को चिनियाँ एप लोकप्रिय हुँदा टाउको दुखाइको विषय बनेको छ ।

क्याप कट एपले भिडियो इडिटिङ गर्न सहयोग गर्छ, पछिल्लो समयमा अमेरिकामा यो एप टिकटक भन्दा धेरै डाउनलोड गरिएको वाल स्ट्रिट जर्नलले समाचारमा उल्लेख गरेको छ । प्रयोगकर्ताहरुको डाटा चिनसमक्ष पुगेको भन्दै टिकटकले अमेरिकामा निकै चुनौती सामना गरिरहेको छ ।

क्यापकटले मानिसहरुलाई भिडियो इडिटिङ गर्दा धेरै टेम्पलेट, फिल्टर, भिडियो इफेक्ट र गित संगित पनि सजिलोसँग प्रयोग गर्न सक्ने विकल्प उपलब्ध गराएको छ, जसको माध्यमबाट साना भिडियो क्लिपहरु बनाउन व्यवसायिक रुपमा प्रयोग गर्न समेत सहयोग पुर्याउँछ । पछिल्लो हप्तामा अमेरिकामा फेसबुक प्रयोगकर्ताहरुको दर घट्न समेत पुगेको छ । जसको कारण चिनियाँ एपहरु भएको अनुमान गरिएको छ ।

सन् २०२० मा सार्वजनिक भएको क्यापकट एप अहिले मासिक दुई सय मिलियन मानिसहरुले डाउनलोड गर्ने गरेका छन् भने विश्वव्यापी रुपमा यसको प्रयोगकर्ता १ बिलियन भन्दा माथि पुगिसकेको छ । क्यापकटले अमेरिकी सुरक्षा नियमनलाई वेवास्ता गरेको भनिएको छ । बाइडेन प्रशासनले टिकटकलाई बेच्न वा यसमा प्रतिवन्धको सामना गर्न चिनियाँ कम्पनीलाई चेतावनी दिएको छ । शुक्रबार प्रकाशित एक जर्नलले चिनियाँ एप टिकटकले अमेरिकी पत्रकारहरुको निगरानी गरिरहेको उल्लेख गरेको छ ।

क्यापकटले पनि प्रयोगकर्ताको उमेर, लोकेसन र लिंग माग्ने गर्छ । बाइटडान्सले क्यापकटको डाटा अमेरिका सिंगापुरमा स्टोरेज हुने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.