संकटको बाटोमा निजी कलेज, समस्यामा लगानीकर्ता

  २०७९ चैत ६ गते १४:३२     नारायण अर्याल

काठमाडौं । पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न विदेशी मुलुक जाने विद्यार्थीको संख्या बढ्न थालेपछि उच्च शिक्षामा ठूलो मात्रामा लगानी गरेका नेपालका निजी कलेजहरुको लगानी धरापमा पर्न लागेको छ । सीमित कलेजहरुमा बाहेक औसत कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थी पाइन छाडेपछि लगानीकर्ताहरु हतोत्साहित हुन थालेका छन् ।

पछिल्लो समय स्नातक तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अधिकांश विश्वविद्यालय, आंगिक क्याम्पस र कलेजहरुमा विद्यार्थीको अभाव हुन पुगेको छ । जसकारण निजी क्षेत्रबाट लगानी गर्नेहरु समस्यामा पर्न लागेको कलेज सञ्चालकहरुले बताएका छन् ।

आयाम इन्टरनेशल कलेज ललितपुरले बिएचएम र बिबिएका कार्यक्रम सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति लिएर सञ्चालन भएको यस कलेजमा अहिले क्षमताभन्दा ८० प्रतिशत कम विद्यार्थीले मात्रै अध्ययन गर्ने गर्छन् । कलेजका प्रिन्सिपल कृष्णचन्द्र झाका अनुसार अघिल्लो वर्षसम्म बिएचएम र बिबिएको लागि प्रतिकक्षा ४० वटा मात्रै कोटा पाएको थियो भने चालू शैक्षिक शत्रबाट सो कोटालाई ९६ बनाएको छ । तर, कोटा बढेपनि कलेजमा विद्यार्थी भने बढेका छैनन् ।

कलेजले २२ जनाभन्दा धेरैलाई शैक्षणिक रोजगार प्रदान गर्दै आएको छ । तर, विद्यार्थीको घट्दो अनुपातका कारण भने कलेजको भविष्य नै अनिश्चयमा पुगेको प्रिन्सिपल झाले बताए । कोरोनापछि विद्यार्थीहरुको पैसा तिर्न सक्ने क्षमता कमजोर भएको र भएका विद्यार्थी पनि विदेशिदा कलेजको अवस्था नाजुक बन्दै गएको उनी बताउँछन् ।

‘नेपाल सरकारले शिक्षा क्षेत्रलाई सकारात्मक रुपमा लिएको छैन, राष्ट्र बैंकले एकपटक निर्देशिका नै जारी गरेर अपरेसनल लोन नदिने भनेको थियो, ओडी पनि फिर्ता गर्ने भनेको थियो’, उनले भने, ‘ठूलो लगानी छ, १५ प्रतिशत आम्दानी गर्न गाह्रो छ, तर १५ प्रतिशत भन्दा धेरै ब्याज तिर्न पर्ने अवस्था छ ।’

कोरोना महामारी भन्दा अगाडिको समयमा कलेजको विज्ञापन गर्नै नपर्ने अवस्था रहेको र विद्यार्थी पनि छनोट गरेर लिने परिस्थिति रहेकोमा अहिले भने चिन्ताजनक अवस्था सिर्जना भएको उनको भनाइ छ । यस्तै अवस्था रहेमा कलेज टिकाउन नसकिने उनको बुझाइ छ ।

‘अब कलेज टिकाउने होइन, पलायन हुने अवस्था बनेको छ, यसलाई चलाइराख्नु भन्दा सकिन्छ भने आफ्नो घाँडो अरुको टाउकोमा राख्ने हो’, उनले भने । नेपालमा कक्षा १२ भन्दा माथिका विश्विद्यालय स्तरका शिक्षा नचलाउँदा ठिक हुने उनको अनुभव छ ।

हिमालयन कलेज काठमाडौं कोटेश्वरका प्रिन्सिपल रामहरी सिलवालले कलेजहरुमा पछिल्लो समयमा स्नातक तहको साधारण विषयहरुमा ५० प्रतिशत विद्यार्थी कम भएको बताए । सोर्स फोर्स लगाएर भर्ना हुनुपर्ने अवस्था रहेको सरकारी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नै विद्यार्थी नपाएको अवस्था अहिले सिर्जना भएको उनले बताए ।

बिएसडब्लु, एमबिए जस्ता कोर्षहरुमा विद्यार्थी संख्या कम भएमा पढाउन सकिने अवस्था नभएकाले धेरै कलेजहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । कोरोना महामारीको अवस्थामा विद्यार्थी होल्ड भएपनि त्यसपछिको अवस्थामा विद्यार्थी बाहिरिने क्रम बढेकाले स्नातक तहमा विद्यार्थीको संख्या कमि हुन पुगेको उनले बताए ।

‘टेक्निकल र एप्लाइड हुने बिबिए, मेडिकल, नर्सिङ, एमबिए, इन्जिनियरिङ लगायतका विषयहरुमा पनि विद्यार्थीको अभाव भएको अवस्थामा साधारण विषयमा विद्यार्थीको झनै समस्या छ’, उनले भने । विगतमा ठूलो संख्यामा विद्यार्थी पढ्ने गरेकोमा अहिले दुई तिहाई विद्यार्थी आफ्नै कलेजमा घटेको उनले बताए ।

स्नातक तहमा अध्ययन गरेका ठूलो संख्याका विद्यार्थीले पनि पूरा अध्ययन नगर्ने उनको भनाइ छ । ‘विद्यार्थीले १०/२० हजार रुपैयाँ तिरेर भर्ना हुन्छन्, अनि भिसा लागेपछि हिँड्छन्’, उनले भने, ‘कसैको पहिलो वर्षमा भिसा लाग्छ, कसैको दोस्रो तेस्रो वर्षमा भिसा लाग्छ, एक सय जना विद्यार्थीसँ राय बुझ्यो भने ७५ जना विद्यार्थी विदेश जाने भन्ने खालका भेटिने अवस्था छ ।’ साधारण विषयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ५० प्रतिशत भन्दा बढी विद्यार्थीहरुले बिचमा नै पढाइ छाडेर हिड्ने गरेको उनले बताए ।

व्यवसायिक दृष्टिकोणबाट हेर्दा प्लस २ सम्मको तहले राम्रो गरेको तर स्नातक तहले नाफा दिने नगरेको उनले बताए । ५/७ वर्ष भन्दा अगाडिको अवस्था भन्दा अहिलेको अवस्थामा स्नातक तहमा ५० प्रतिशत एकेडेमिक बिजनेस घटेको उनको भनाइ छ । अहिलेको परिस्थिति हुनुमा सरकार, शिक्षा मन्त्रालय र विश्वविद्यालयको दोष रहेको उनले बताए ।

‘विश्वविद्यालयले समय सापेक्ष कोर्षहरुको एफिलिएसन दिनु पर्यो, २५ वर्ष भयो बिबिएको एफिलिएसन दिएको छैन, सरकारले एप्लाइड कोर्ष दिँदैन’, एमबिएको यति धेरै माग छ, तर त्रिभुवन विश्वविद्यालय सीमित संख्यामा आँफैले चलाएर बसेको छ, कसैलाई दिँदैन’, उनले भने । शिक्षा क्षेत्रको नीतिमा नै ठूलो रिभ्युको आवश्यकता भएको प्रिन्सिपल सिलवालको भनाइ छ । निजी क्षेत्रले प्लसटु सम्मका विद्यार्थी रोकेपनि स्नातक तहका विद्यार्थी रोक्न नसकेको उनले बताए ।

पूर्वाअञ्चल विश्वविद्यायबाट सम्बन्ध लिएको काठमाडौंको बुढानिलकण्ठ स्थित नमूना कलेज अफ फेसन टेक्नोलोजी सो विषयमा नेपालकै पहिलो कलेज हो । विषयका हिसाबले यो कलेजका प्रतिस्पर्धी कलेजहरुको संख्या कम छ । तर, पछिल्लो समयमा सो कलेजमा पनि विद्यार्थी संख्या घटेको कलेजका सहायक प्रिन्सिपल जिबेश्वरलाल श्रेष्ठले विकासन्युजसँग बताए । उनका अनुसार कलेजको क्षमता प्रतिब्याच एक सय जना रहेकोमा अहिले ६०/६५ जनाले मात्रै अध्ययन गर्ने गरेका छन् । जसले गर्दा विगतको तुलनामा एकेडेमिक व्यवसाय घटेको उनको भनाइ छ ।

२०७७ सालको कक्षा १२ को परीक्षामा ३ लाख ४४ हजार सात सय २१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसैगरी ०७८ सालमा तीन लाख ७५ हजार १५ जना र ०७९ सालमा ३ लाख ९६ हजार एक सय ८५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

विश्वमा श्रम बजारमा प्रवेश गर्नको लागि १८ वर्ष उमेर पूरा भएको हुनु पर्छ । जसका कारणले विद्यार्थीहरुले कक्षा १२ सम्मको अध्ययन नेपालकै स्कुलहरुमा गर्ने र त्यपछि मुख्य गरेर रोजगारी र आर्जनको लागि अध्ययनको नाममा विदेशिने गरेको तथ्यांकहरुले देखाउने गरेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा तीन लाख १४ हजार ७६७ जना नेपालीहरुले कामको लागि विदेश जान नयाँ श्रम स्वीकृति लिएका थिए भने एक लाख ६७ हजार ७०८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

त्यसैगरी चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५९ हजार ८५७ जना विद्यार्थीले वैदेशिक अध्ययनको लागि अनुमति (एनओसी) लिएका छन् । अहिलेसम्मको तथ्यांकका आधारमा श्रमबजार र अध्ययनको लागि एक वर्षमा विदेश जाने नेपालीको संख्या कक्षा १२ मा वर्षेनी सहभागी हुने विद्यार्थी संख्याको अनुपातमा दोब्बर देखिन्छ । नेपालमा रोजगारी अवसरको अभाव र गुणस्तरीय शिक्षा अभावका कारण उच्च शिक्षामा विद्यार्थीको अभाव हुने क्रम बढेको निजी विद्यालय तथा कलेजका सञ्चालकहरुले बताएका छन् ।

अघिल्लो वर्षको आर्थिक सर्वेक्षण अुनसार आर्थिक वर्ष ०७७/७८ अनुसार नेपालमा सञ्चालनमा रहेका सबै विश्वविद्यालय र क्याम्पसमा ५ लाख ५६ हजार ५ सय ९७ जना विद्यार्थीहरुले अध्ययन गर्ने गर्दथे । ०७६/७७ को तुलनामा सो आर्थिक वर्षमा नेपालमा उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीको संख्या १.८ प्रतिशतले बढेको थियो ।

हिसानका वाग्मती अध्यक्ष भवानी पौडेलले पछिल्लो तीन वर्षमा कक्षा १२ अध्ययन गरेपछिका विद्यार्थीको ठूलो संख्या विश्वका तेस्रो मुलुक र भारतमा जाने गरेकाले स्नातक तहको कक्षा सञ्चालन गर्ने कलेजहरुमा विद्यार्थी अभाव हुँदै गएको बताए । अहिलेको अवस्था अझै १/२ वर्ष कायम रहेमा धेरै कलेजहरु बन्द हुने उनको भनाइ छ ।

‘सरकार र विश्वविद्यालयहरु सिरियस नहुने हो भने र शिक्षामा पर्याप्त बजेट नछुट्याउने हो भने स्थिति भयाभह देखिन्छ’, उनले भने, ‘अबको शिक्षा अनुसन्धानमा आधारित हुनु पर्छ, विश्वविद्यायले पढाएर बस्ने होइन, पढाउने काम त हामी कलेजहरुले गर्छौं, उनीहरु अनुसन्धानको काममा लाग्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.