मर्जरमा गएकालाई पनि टप्दै एनआईसी र राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट आक्रामक

  २०७९ चैत ५ गते १९:०५     विकासन्युज

काठमाडौं । बैंकहरुबीच मर्जर गरेर नम्बर वान बन्ने रणनीति भइरहेका बेला एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक भने मर्जर बिना नै आक्रामक देखिएका छन् । मर्जर गरेर ठूलो पूँजी निर्माण गरी उल्लेख्य रुपमा नाफा गर्ने रणनीति बनाएका बैंकलाई पछि पार्दै यी दुई बैंकले चालू आर्थिक वर्षको माघमसान्तसम्म सन्तोषजनक नाफा गरेका छन् ।

चालू आर्थिक वर्षको ७ महिनासम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रस्थानमा नबिल बैंक छ भने दोस्रोमा एनआईसी एशिया बैंक, तेस्रोमा ग्लोबल आइएमई बैंक, चौंथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । यी पाँच बैंकमध्ये नबिल, ग्लोबल आइमएई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्जरले बढी नाफा गर्न सफल भएका छन् भने एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक मर्जरबिनै मर्जर भएका बैंकलाई टक्कर दिइरहेका छन् ।

समीक्षा अवधिमा नबिल बैंकले ४ अर्ब १३ करोड, एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड रुपैयाँ नाफा गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नबिल बैंकले १६ प्रतिशत बढी नाफा गरेको छ भने एनआईसी एशियाले २८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३४.३३ प्रतिशत नाफा बढाएका हुन् । ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने १२ वटा बैंकको बढेको छ । समीक्षा अवधिमा सबैभन्दा नाफा बढी बढाउने बैंकको सूचीमा एभरेष्ट बैंक देखिएको छ । सबैभन्दा बढी घाटामा कृषि विकास बैंक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.