७ कम्पनीको ६ अर्ब ८५ करोड रुपैयाँ बढीको बोनस सेयर दर्ता, कुनको कति ?

  २०७९ चैत ५ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ७ कम्पनीको मात्रै बोनस सेयर दर्ता भएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ७ वटा कम्पनीको बोनस सेयर सेबोनमा दर्ता भएको हो ।

गत साउनदेखि हालसम्ममा कूल ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएका छन् । जसमा तीन इन्स्योरेन्ससहित ७ कम्पनीको कूल ६ करोड ८५ लाख कित्ता सेयर रहेका छन् ।

हालसम्म बोनस सेयर दर्ता हुनेमा गरिमा विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र एनसीसी बैंक रहेका छन् ।

यीमध्ये गरिमा विकास बैंकको ६३ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । गत साउन ६ गते नै बैंकको ६३ लाख १७ हजार कित्ता बोनस सेयर सेबोनमा दर्ता भएको हो । जुन आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर हो ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको पनि सोहि दिन ३ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दर्ताका भएको थियो । अन्य समूह अन्तर्गतको यो कम्पनीको आर्थिक वर्ष २०७७/७८ को ३ करोड कित्ता बोनस सेयर दर्ता भएको हो ।

बीमा समूहअन्तर्गतका तीन वटा कम्पनीको बोनस सेयर दर्ता भएका छन् । निर्जीवन बीमाको तर्फबाट लुम्बिनी जनरल इन्स्योरेन्स र जीवन बीमाको तर्फबाट एशियन र सानिमा लाइफ रहेका छन् । जसमध्ये लुम्बिनी जनरल र एशियन लाइफको आर्थिक वर्ष २०७७/७८ को र सानिमा लाइफको आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर चालु आवमा सेबोनमा दर्ता भएको हो ।

जसमध्ये लुम्बिनी जनरलको ११ करोड ३८ लाख रुपैयाँ बराबरको ११ लाख ३८ हजार कित्ता सेयर रहेको छ । एशियन लाइफको ३६ करोड ८२ लाख रुपैयाँ बराबरको ३६ लाख ८२ हजार कित्ता सेयर सेबोनमा दर्ता भएका छन् । त्यसैगरी, सानिमा लाइफको गत कार्त्तिक २४ गते ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता बोनस धितोपत्र बोर्डमा दर्ता भएका छन् ।

यता वाणिज्य बैंकको तर्फबाट दुई कम्पनी रहेका छन् । जसमा हिमालयन बैंक र एनसीसी बैंक छन् । हिमालयन बैंकको २ अर्ब २८ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो भने एनसीसी बैंकको ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर दर्ता भएको छ ।

त्यस्तै, हिमालयन बैंकको आर्थिक वर्ष २०७७/७८ को २ करोड २८ लाख कित्ता सेयर दर्ता भएको छ । एनसीसी बैंकको भने आर्थिक वर्ष २०७८/७९ को ३७ लाख ५० हजार कित्ता सेयर धितोपत्र बोर्डमा दर्ता भएका छन् ।

हालसम्ममा गत आर्थिक वर्ष अर्थात २०७८/७९ को बोनस सेयर दर्ता गर्नेमा एनसीसी बैंक मात्र देखिएको छ । कम्पनीहरुले सम्बन्धित वर्षको लाभांश सेयरधनीलाई वितरण गरेपछि मात्रै उक्त सेयर सेबोनसमा दर्ता हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.