२०७९ चैत ४ गते १२:५३ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए । अनलाइन प्रणालीमा गएपछि सेवामा तिव्रता आएको तर सबै राम्रो भएको भन्न भने नमिल्ने उनको भनाइ थियो ।
‘अनलाईन प्रणालीमा जोखिम भएकाले सुरक्षित बनाउन जरुरी छ, बचतकर्ताको गोपनियता राख्न सक्नुपर्छ, प्रतिस्पर्धात्मक भएर गुणस्तर कामय गर्नुपर्छ’, उनले भने । नेपालको अर्थतन्त्र संकटमा नभएको, राजस्व संकलन घटेपनि अर्थतन्त्रमा सुधारका संकेत देखिएको सचिव घिमिरेले बताएका थिए ।
त्यस्तै समारोहका सभापति तथा नागरिक लगानी कोषका अध्यक्ष प्राडा सुर्यबहादुर थापाले कोषले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विभिन्न योजनाहरुबाट २ खर्ब ९ अर्ब ९४ करोड पुँजी संकलन गरेको र सो अवधिमा २ खर्ब ७ अर्ब २८ करोड लगानी गरेको बताएका थिए ।
समारोहमा कोषमा २० वर्ष भन्दा धेरै समय सेवा गरेका र सेवा निवृत्तलाई सम्मान गरिएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.