३८ प्रतिशतले घट्यो विदेशी लगानी

  २०७९ चैत ४ गते ७:५६     विकासन्युज

काठमाडौं । मुलुकमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ९३ प्रतिशतले घटेको हो ।

विश्वभर देखिएको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार यो आठ महिनामा १५९ परियोजनामार्फत २० अर्ब ५६ करोड २३ लाख रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

अघिल्लो वर्ष सो अवधिमा ३३ अर्ब १२ करोड ६६ लाख रुपियाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १२ अर्ब ५६ करोड ६५ लाख रुपियाँ कमी हो ।

१५९ वटा परियोजना

यो वर्ष १५९ वटा परियोजनामा १३४ वटा साना उद्योग, २२ वटा मझौला र तीनवटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । ती परियोजनामार्फत नौ हजार ४७८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

आठ महिनामा विदेशी लगानी प्रतिबद्धतामा सबभन्दा धेरै सेवामूलक परियोजनामा ७४ दशमलव ४४ प्रतिशत, पर्यटनमूलक परियोजनामा ६१ दशमलव ३८ प्रतिशत, उत्पादनमूलकमा १६ प्रतिशत, सूचना प्रविधिमा ७ दशमलव ५ प्रतिशत र पूर्वाधारमा ५ दशमलव ३ प्रतिशत रहेको विभागले जनाएको छ । खनिज, ऊर्जा र कृषिमा आधारित परियोजनामा लगानी प्रतिबद्धता नआएको विभागको तथ्याङ्क छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँको लगानी प्रतिवद्धता भएको छ । यस्तै असोज महिनामा एक अर्ब ८५ करोड ४७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएको छ । विभागका अनुसार पुस महिनामा चार अर्ब ८५ करोड २० लाख रुपियाँ, माघ महिनामा एक अर्ब ३९ करोड र फागुन महिनामा एक अर्ब ९२ करोड २९ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार आव २०७८र७९ मा साउनमा महिना पाँच अर्ब ५३ करोड ५० लाख, भदौ महिनामा छ अर्ब ३२ करोड, असोज महिनामा ११ अर्ब ९६ करोड पाँच लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिक महिनामा ९८ करोड, मङ्सिर महिनामा पाँच अर्ब १५ करोड ५१ लाख, पुस महिनामा ६१ करोड २० लाख, माघ महिनामा ५३ करोड ९५ लाख र फागुन महिनामा दुई अर्ब २३ करोड रुपियाँ प्रतिबद्धता आएको थियो ।

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले विश्व अर्थमन्त्रमा देखा परेको सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको बताए। रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर देखिएको उनको भनाइ छ ।

भिसामा कडाइ

भिसामा कडाइ गरिएका कारण पनि लगानी प्रतिबद्धता कम आएको विभागको बुझाइ छ । प्रतिबद्धता गर्ने तर सोअनुसार लगानी नआएकाले विभागले व्यावसायिक भिसामा कडाइ गरेको हो । फागुनसम्म विभागले व्यावसायिक भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

लगानी सीमाको प्रभाव

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि सोअनुसार लगानी आउन नसकेको विभागले जनाएको छ ।

गत मङ्सिर महिनादेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारिएको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार सुरुदेखि हालसम्म मुलुकमा चार खर्ब ३९ अर्ब ८२ करोड ९४ लाख ९३ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा विदेशी लगानीकर्ताले लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये ३० प्रतिशत लगानी भित्रिने गरेको बताइएको छ ।

साढे तेह्र अर्ब नाफा विदेशियो

राससका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा लाभांशबापत साढे १३ अर्ब रुपियाँ विदेशिएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा तीन अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस गरेको हो ।

विभागले यो आठ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार रुपियाँ विदेशिएको छ । यसमा ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपियाँ र सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

फागुनमा मात्रै तीन अर्ब सिफारिस

विभागले फागुनमा मात्रै लाभांशबापत दुई अर्ब आठ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको छ । शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष विदेशिने रकम बढ्ने विभागको अनुमान छ । ‘गत आर्थिक वर्षमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ’, उनले भने । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.