२०७९ चैत २ गते १७:४२ विकासन्युज
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो । १७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको थियो ।
यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।
सन् २०१९ देखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाल तेस्रो भएको छ । पछिल्लो १२ मध्ये ११ खेल जितेर नेपालले ३६ खेलबाट ४० अंकसहित तेस्रो स्थान हासिल गरेको हो । ३६ खेलबाट ५० अंकसहित स्कटल्याण्ड लिग टू च्याम्पियन भइसकेको छ भने ४४ अंकसहित ओमान दोस्रो भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.