२०७९ चैत १ गते १६:१३ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छिन् । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बोल्दै उप-प्रमुख डंगोलले सो कुरा बताएकी हुन् ।
‘स्थानीय सरकारलाई अनुगमनको अधिकार दिएको छ तर कार्यान्वयन गर्नलाई हात बाँधीदिएको छ, आफ्नो अगाडि मिठा परिकार सजाएर राखिएको छ ,खाऔं भनेको छ तर हात बाँधीदिएको छ, यसका लागि पनि आवश्यक कानून बनाउनुपर्ने महशुस गरेका छौं,’ उनले भनिन् ।
बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानून बनाउनुपर्ने कुरालाई जोड दिइन् । महानगरले आफ्नो काम कर्तव्य , अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखि तिब्रगतिमा सञ्चालन गर्ने काम गरिरहेको पनि डंगोलले बताइन् ।
यस्तै, स्थानीय तहलाई कार्यान्वयन गर्न कानून नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरु झेल्नुपरेको डंगोल बताउँछिन् । उनले महानगरले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नको लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निश्पक्ष भएर काम गर्न सक्नुपर्ने बताइन्।
‘व्यक्तिगत स्वास्र्थ राख्नेहरुले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको छ, महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरुले थाहा पाइसक्ने गरेको छन्, अनुगमन गर्न जाने समितिमा बस्ने सदस्य बाहेकलाई भन्दा अन्य अरुलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने हो तर अनुगमन गर्ने स्थानका व्यवसायीहरुलाई थाहा हुन्छ,’ उनले भनिन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.