च्याउखेतीबाट २३ जनालाई रोजगारी, वार्षिक १० करोडको कारोबार

  २०७९ चैत १ गते १३:४९     विकासन्युज

सर्लाही । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौं ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन् ।

काठमाडौं उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा एक लाख लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन् ।

‘जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो’, उनले भने, ‘त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।’

एक लाख लगानीमा एक सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म ११ करोड भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उनले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बनाएका छन् । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोडसम्म कारोबार गरेको उनको भनाइ छ ।

व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब नौ करोड ऋण लागेको बताए ।

कक्षा १२ सम्मको अध्ययन गरेका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिन्छन् । ‘च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ’, उनले भने, ‘फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।’

हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौंलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उनले च्याउ हाल प्रतिकिलो तीन सय ५० का दरले बिक्री गर्दै आएका छन् ।

२३ जनालाई जागिर

चौलागाईंले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिएका छन् । उनले तनहुँका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिएका छन् ।

फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राखेका छन् । आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहेका छन् ।

उनले आफू यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा छन् । सुरुमा बागमती नगरपालिकाले १० लाख अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले सहयोग नपाएको चौलागाईंले सुनाए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.