कुमारी बैंकमा भएको घटनाप्रति सिबिफिनको खेद प्रकट

  २०७९ फागुन ३० गते १९:२६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले बैंकको कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको धरपकड र जबरजस्तीप्रति खेद प्रकट गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुर हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड र कार्यालय बन्द गर्ने गतिविधिहरुप्रति सिबिफिनले खेद प्रकट गरेको हो ।

‘व्यवसायिक संस्थाहरुले फागुन ३० गते मकवानपुर हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति सिबिफिन गहिरो खेद प्रकट गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट हुनुपर्ने र भयरहित वातावरणमा बैंकिङ सेवा सुचारु गर्न उचित शान्ति सुरक्षाको व्यवस्था गर्न नेपाल सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराएको छ ।

सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रको रुपमा परिभाषित गरिएको छ । यस्ता क्षेत्रमा बन्द तथा हडताल गर्न नहुने र नपाइने गरी राजपत्रमा सूचना प्रकाशित गरेको भएपनि उल्लङ्घन गरेको भन्दै खेद प्रकट गरेको हो ।

जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायरु वार्ता तथा संवादको माध्यमबाट पहिल्याउन सकिने सिबिफिनले बताएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधान गर्न कनेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.