बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो, कुनको कति ?

  २०७९ फागुन ३० गते ७:४०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थहरुले चैतमा लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएर मंगलबार सूचना प्रकाशन गरेका हुन् ।

वाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने गरी निक्षेपमा ०.४२ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाएका हुन् । वाणिज्य बैंकहरुले निक्षेप तर्फको साधारण बचतमा ०.४२ प्रतिशत ब्याजदर घटाएर अधिकतम ९ प्रतिशतसम्म तोकेका छन् ।

अब वाणिज्य बैंकहरुले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर दिने भएका हुन् । तर, बैंकको मुद्दती निक्षेप अन्तर्गतका खातामा भने ब्याजदर स्थीर राखेका छन् । संस्थागत मुद्दतीमा ९ प्रतिशत र ब्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् ।

साथै, बैंकहरुले कर्जाको लागत कम गर्नका लागि प्रिमियममा १ प्रतिशत घटाएका छन् । अब बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछन् । यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए ।

यस्तै, विकास बैंकहरुले पनि चैतमा ब्याजदर घटाएर सूचना प्रकाशन गरेका छन् । विकास बैंकहरुले साधारण बचत खातामा ०.१५ प्रतिशत ब्याजदर घटाएर ९.६० प्रतिशतसम्म ब्याज दिने भएका हुन् । विकास बैंकहरुले साधारण बचत खातामा न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ९.६० प्रतिशतसम्म ब्याजदर तोकेका हुन् । यसअघि न्यूनतम ६.७५ प्रतिशतदेखि अधिकतम ९.७५ प्रतिशतसम्म ब्याजदर थियो ।

साथै, विकास बैंकको मुद्दती निक्षेपमा पनि ०.१५ प्रतिशत ब्याजदर घटाएका छन् । विकास बैंकहरुले मुद्दती खातामा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १२.६० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यसअघि अधिकतम १२.७५ प्रतिशतसम्म ब्याजदर थियो ।

यस्तै, फाइनान्स कम्पनीहरुले बचत खातामा ब्याजदर स्थीर राखेको भएपनि मुद्दती खातामा भने घटाएका छन् । फाइनान्स कम्पनीहरुले मुद्दती निक्षेपमा ०.२० प्रतिशतसम्म घटाएर अधिकत १२.२५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.