तिमी ! विदेश नजाने ?

  २०७९ फागुन २९ गते १७:५८     राजिव न्याैपाने

काठमाडौं । तपाईंलाई विदेश जानेकी नजाने भन्ने विषयले कतिको सताउँछ ? मलाई यही विषयले केही दिनदेखि सोचमग्न बनाएको छ । हुनत धेरैले विदेशलाई सपना साकार बनाउने थलोको रुपमा लिन्छन् । आफ्ना सपनाहरु पुरा गर्न मान्छेहरु समुन्द्र पारीका देशहरुमा जान विवश हुन्छन् । त्यही इच्छा पुरा गर्नुअघि धेरै युवाहरु कन्सल्टेन्सी धाउँछन् । आज, भोलि, पर्सी, सधैं कन्सल्टेन्सीको बाटो हुन्छ ।

पहिले–पहिले बुढापाकाहरुले भन्ने गर्थे, ‘केटी खोज्न जाँदा कत्ति जोर जुत्ता फाटे कति ।’ हो, अहिले विदेश जानैका लागि धेरै युवाहरुले कन्सल्टेन्सी धाएर जुत्ता फटाउँछन् । कक्षा १२ को पढाइ सकिने वित्तिकै धेरैको रोजाइ विदेश हुन्छ । अहिले प्रत्येक घरको एक जना त विदेश गएकै हुन्छन् । तपाईंको होस् । या मेरो ।

अहिले कसरी पढ्ने ? कत्ति अंक ल्याउने ? कुन तहसम्म पढ्ने भन्दा पनि कुन देश जाने, कुन देश राम्रो कमाइ हुन्छ, कुन कन्सल्टेन्सी जाँदा विदेशको भिसा छिटो लाग्छ ? लगायतका जिज्ञासा मेटाउनमै युवाहरु व्यस्त हुन्छन् ।

तपार्ईंका साथीहरु पनि प्लस टु पढ्दै विदेशी भाषा सिक्ने धेरै होलान् । मेरा साथीहरु पनि धेरै छन् । मैले २०७७ मा कक्षा १२ सम्मको अध्ययन पुरा गरेँ । यो बिचमा धेरै साथीहरू सरकारी जागिरे भए । धेरै विदेश हानिए । अधिकांश विदेशको तयारी गरिरहेका छन् ।

कक्षा १२ को पढाइ सकियो । मैले भने पढ्दै सोचौंला भनेर स्नातकको पढाइ सुरु गरेँ । स्नातकसँगै एक निजी कम्पनीमा काम गरेँ । विदेश होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने किसिमले काम गरियो । विदेश जाने कुनै सुरुसार गरिएन । बिचमा कोरोना सुरु भयो । कोरोनाले पढाइसँगै काममा पनि बाधा पुर्यायो ।

काठमाडौंको महँगी । यहाँ ५० हजारकै जागिर भएर पनि के गर्नु ? तलब आएको २०/२२ दिन नबित्दै साथीसँग नमागेको महिना हुँदैन । तपाईंले कत्तिको माग्नु हुन्छ सापटी ? आफै मनन् गर्नुस् ।

अब त विदेश नगएर भएन भन्ने मलाई पनि लाग्यो । सँगै पढेर विदेश हानिएको साथी, यता जग्गा किनेँ, उता जग्गा किनेँ भनेर गफ लगाउने । धेरैले घर बनाए । बिहे गरे । राम्रो पैसा कमाए । तर, आफ्नो विवशता भने उस्तै ।

यस्तै सम्झेर २/४ वटा कन्सल्टेन्सीमा समेत धाएँ । तर, विदेश जान पनि पैसा लाग्ने रहेछ । त्यती धेरै पैसा घरबाट दिन नसक्ने । त्यही समयबाट मेरो लागि विदेश रहेनछ भन्ने पनि सोचेँ । पैसा नभपछि विदेश जानु बेकार हो भन्ने लाग्यो । काम गर्दै गइयो । सामान्य जागिर । एक्लो ज्यानलाई खान बस्न समस्या भएन ।

यो सिलसिला निरन्तर चलिरहेकै थियो । एकदिन १२ कक्षासँगै पढेको साथीसँग बसमा भेट भयो । हाल खबर सोधियो । साथीले सोधिन्, ‘सँगै पढेका साथी त सबै विदेश गए, तिमि नजाने ?’ म अलमलमा परेँ । समय आएपछि जानुपर्छ भन्ने जवाफ फर्काएँ ।

उनले फेरि भनिन्, ‘समयमै विदेश जानु पर्छ है, नत्र पछि दुःख पाइन्छ ।’ सधैं दुःख पाइरहेको मान्छेलाई अझैं दुःख पाउनु केनै ठूलो कुरा भयो र मैले हाँस्दै जवाफ दिएँ ।

अनि तिमी नजाने ? मैले पनि प्रश्न गरेँ ।

उनले खुसी हुँदै भनिन्, ‘म पनि जाने तयारी गरेकी छु, जापानको भिसा लागेको छ ।’

विदेशको आस मारेर बसको मान्छेलाई साहस जगाइ दियो ती साथीको कुराले । हामी छुट्टियौं ।

म फेरि सोच्न थालेँ । सँगै पढ्ने साथीहरु, गाउँघरमा सँगै खेलेका दाजुभाईहरु विदेश गए, कतिले विदेशको तयारी गर्दैछन् । म जस्ता दैनिक हजारौं नेपाली युवाहरु विदेश पलायन भइरहेका छन् । उद्योगी व्यवसायीहरु पनि स्वदेशमा उद्योग व्यवसायको वातावरण राम्रो भएन भनेर विदेशमा लगानी गरिरहेका छन् । अनि म स्वदेशमा किन बस्ने ?

म कुन देश जाउँ ? कुन कन्सल्टेन्सीमा छिटो भिसा लाग्छ होला ? पहिले साथी-सँगीहरु बिहे कहिले गर्छस् भनेर प्रश्न गर्थे । अहिले कहिले विदेश जान्छस् भनेर प्रश्न सोेध्छन् । अब म ती साथीहरुलाई के जवाफ दिउँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.