यस कारण टाट पल्टियो सिलिकन भ्याली बैंक, नेपाली बैंकले सिक्नु पर्ने पाठ के हो ?

  २०७९ फागुन २८ गते १७:२९     विकासन्युज

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा एक किसिमको तरंग पैदा भएको छ । ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरेपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा त्रास उत्पन्न भएको हो ।

यो घटनालाई लिएर धेरैले वित्तीय क्षेत्रमा संकट सिर्जना रुपमा चित्रण गरेका छन् । कतिपयले यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत बुझेका छन् । सन् २००८ मा वासिंङटन म्युचअल टाट पल्टिएको थियो । सो घटनापछि भएको यस घटनालाई अर्को वित्तीय संकटका रुपमा लिइएकाे छ ।

सिलिकन भ्याली बैंक अमेरिकाको १६औं ठूलो बैंक हो । नियामकले यो बैंकलाई बन्द गरेर भएको निक्षेपलाई आफ्नो नियन्त्रणमा लिएको छ । केही समय अगाडि देखि नै यस बैंकका वित्तीय स्वास्थ्य बिग्रिएको थियो । बेला बखत यस बैंकको विषयमा नकारात्मक समाचारहरु बाहिरिन्थे ।

बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा सेयर बेचेर करिब २.२५ बिलियन बराबरको सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला लगानीकर्ता र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए । बैंकको विषयमा नकारात्मक विषयहरु बाहिरिएपछि निक्षेपकर्ताहरुले समेत धमाधम पैसा निकाल्दै आएका थिए भने ऋणीहरुले पनि समयमै ऋणको सावाँ किस्ता तिर्न मानिरहेका थिएनन् ।

यो बैंक समस्यामा पर्नुको मुख्य कारण उच्च ब्याजदर भएको विषय पनि बाहिरिएको छ । बैंकको सेयर मूल्य घट्दै जाँदा र लगानी समस्या हुँदा ठूलो सकसमा परेको थियो । अमेरिकाको बैंकहरुको नियामक फेडरल रिजर्भले महंगीलाई लक्षित २ प्रतिशतको दायरामा ल्याउन ब्याज दर वृद्धि गरेको छ । यसले पनि बैंकलाई असर गरेको हो ।

फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले बैंकमा करिब १७५ बिलियन डलर डिपोजिट रहेको जनाएको छ ।

यस बैंकको लगानीको हिस्सा सबभन्दा बढी प्रविधि क्षेत्रमा रहेको बताइएको छ । बैंकले भारतमा मात्रै करिब दुई दर्जन स्टार्टअपमा लगानी गरेको बुझिएको छ । गत वर्ष अक्टोबरमा मात्रै भारतका स्टार्टअप कम्पनीले सो बैंकबाट करोडौं डलर ऋण लिएको खुलेको छ । यो बैंक टाट पल्टिएसँगै यसको असर भारतमा पनि पर्ने धेरैको विश्लेषण छ ।

विश्व बैंकको पछिल्लो प्रक्षेपण प्रतिवेदनमा समेत सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने उल्लेख छ ।

नेपाली बैंकले सिक्नु पर्ने पाठ

पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र पनि स्वस्थ अवस्थामा छैन । बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि तरलताको समस भोगिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट उच्च ब्याज लिएको भन्दै उद्योगी व्यवसायी पनि आन्दोलनमा छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैैंक एकपछि अर्को कडा नीति अघि सारेर वित्तीय संस्थाहरुप्रति झन कठोर बनिरहेको छ भने बैंकहरुले राष्ट्र बैंकको नीतिको मौन विरोध गर्दै आएका छन् । उद्योगी व्यवसायीहरुले बढी ब्याजदर भयो भनेर विरोध जनाइरहेको बेला नियामक राष्ट्र बैंकले नै बढी ब्याजलाई नै प्रशय दिइरहेको उसको नीतिबाट प्रष्ट हुन्छ ।

अहिले राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गरिरहेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर छ । तर, चैतदेखि भने घट्ने बताइएको छ । राष्ट्र बैंकले नै ब्याजदर बढाउने नीति अघि सार्दा यसले सेयर बजारलाई असर गर्ने धेरैको बुझाइ छ । सेयर बजारमा आएको गिरावट नै सिलिकन भ्याली बैंक टाट पल्टिनुको एउटा प्रमुख कारण भएको धेरैको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यो घटनाबाट नेपाली बैंकहरुले पनि धेरै पाठ सिक्नु पर्ने बताउँछन् । नेपाली बैंकहरुले बैंक जति ठूलो भयो त्यति धेरै जोखिम हुने, कर्जा लगानी एउटै ठाउँमा मात्रै गर्न नहुने, अधिक तरलता हुनु पर्ने र बैंकहरुको समस्यामा नियामकले सहयोग गर्नु पर्ने लगायतका विषयहरु बुझेर अगाडि बढ्नु पर्ने उनको राय छ ।

सिलिकन भ्याली बैंक जस्ताे ठूलो बैंक डुब्नाले पनि धेरै ठूलो जनमानसमा आर्थिक क्षति पुर्याएको छ र अझै पुर्याउन सक्छ । पछिल्लो समय नेपाली बैंक पनि ठूलो बन्ने लहर सुरु भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति अघि सारेर बैंक ठूलो बनाउने रणनीति बनाइरहेको छ । यदि त्यो बैंकमा कुनै दिन समस्या आउने वित्तिकै त्यसले ठूलो जनमासनमा असर पर्ने थापाको भनाइ छ ।

यस्तै, सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा बढी लगानी गरेको थियो । पूर्व कार्यकारी निर्देशक थापका अनुसार बैंकले एउटै क्षेत्रमा लगानी गर्नु राम्रो होइन । ‘सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा मात्रै लगानी गरेको थियो, अब यो घटनाले त्यस बैंकले लगानी गरेको क्षेत्रमा पनि असर पर्ने भयो, नेपालमा पनि घरजग्गा र सेयर बजामा बैंकहरुले बढी लगानी गर्छन्, ती क्षेत्रमा समस्या आयो भने बैंकहरु पनि ठूलो समस्यामा पर्न सक्छन्,’ उनले भने ।

यस्तै, बैंकहरुले तरलता अनुपात प्रयाप्त राख्नु पर्ने थापाको धारणा छ । अधिक तरलता .नराख्दा पनि बैंकमा समस्या आउन सक्छ । पछिल्लो समय नेपाली बैंकिङमा बैंकको ९० प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को विषयमा व्यापक विरोध पनि हुने गरेको छ । तर, बैंकहरुले यो भन्दा पनि बढी तरलता राख्नु पर्ने थापाको तर्क छ । उनले बैंकमा अधिक तरलता राख्दा जस्तोसुकै समस्या आएपनि बैंकले समाधान गर्न सक्ने क्षमता राख्ने बताए ।

यस्तै, उनले नियामकले सहयोग नगरेकै कारण पनि सिलिकन बैंकमा समस्या आएको बताउँदै यस विषयमा राष्ट्र बैंकले पनि सजग बन्नु पर्ने राय दिए । ‘केन्द्रिय बैंकले सहयोग गरेन भने पनि यस्तो समस्या आउन सक्छ, सिलिकन भ्याली बैंकलाई त्यहाँको केन्द्रिय बैंकले अन्तिम ऋणदाता सहुलियत दियो भने डुब्ने सम्भावना कम हुन्थ्यो, यस्ता समस्या आउने वित्तिकै केन्द्रिय बैंकले पनि सहुलियत दिन पछि हट्नु हुन्न,’ थापाले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.