एक वर्षमा ६८० अंकले घट्यो नेप्से परिसूचक, डेढ खर्बको धितोपत्र सूचीकृत

  २०७९ फागुन २८ गते १३:११     विकासन्युज

काठमाडौं । पछिल्लो एक वर्षमा नेप्से परिसूचक ६७९.७ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ माघको तुलनामा २०७९ को माघसम्ममा परिसूचक सो अंक अर्थात ३२.०३ प्रतिशतले घटेको हो ।

२०७८ माघ मसान्तमा २८०१.६ बिन्दुमा रहेको नेप्से परिसूचक २०७९ माघ मसान्तमा २१२१.९ मा झरेको छ ।

परिसूचक घटेसँगै बजार पुँजीकरणमा पनि संकूचन आएको छ । २०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब पुँजीकरण भएको बजारमा २०७९ माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोडमा घटेको छ ।

२०७९ माघमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ माघमा सूचीकृत कम्पनीहरूको संख्या २२६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ६१ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर, १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल १ खर्ब ५० अर्ब ६८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.