विशेष अदालतद्वारा पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला

  २०७९ फागुन २५ गते १९:१४     विकासन्युज

काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी हानी नोक्शानी पु¥याइ भ्रष्टाचार गरेको ठहर गर्दै  पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ ।

विशेष अदालतले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, प्रमोद मेहता, कुञ्ज विहारीप्रसाद चौधरी, हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र रविन्द्र कुमारले बदनियतपूर्वक समाज कल्याण परिषद्लाई २० करोड ७१ लाख ३४ हजार ८३० रुपैयाँ हानी नोक्शानी पु¥याएको पुष्टि भएको भन्दै कैद र जरिवानासँगै बिगो समेत असुल उपर गर्ने फैसला गरेको हो ।

न्यौपाने, मेहता, चौधरी र कुमारलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम सजाय हुने साथै चौधरीको मृत्यु भइसकेकाले निजबाट बिगो मात्र असुल उपर गर्ने फैसला भएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

फैसला अनुसार बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद गरिने भएको छ ।

त्यस्तै मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने उल्लेख गरिएको छ । त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ ।

न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ ।

अर्का प्रतिवादी रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरीवाना र त्यति नै बिगो समेत असुल उपर गर्ने ठहर भएको छ । त्यस्तै टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवाना गरिने उल्लेख गरिएको छ । सो बिगो भने माथि उल्लेखित कसुरदारहरुबाट असुल उपर गरिने विशेष अदालतका उप–रजिष्टार भट्टराईले जानकारी दिए ।

One comment on "विशेष अदालतद्वारा पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला"

  • bhim bahadur thapa says:

    its very good work. this should be continued and thusant of such cases should be investigated

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.